काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

कञ्चनपुर। कञ्चनपुर कारागारबाट मंगलबार राति फरार भएका कैदीबन्दीमध्ये हालसम्म २१ जना कारागार फर्किएका छन्।

कारागारका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार मंगलबार राति तीन–चार सयको समूह घरेलु हतियारसहित कारागार प्रवेश गरी मुख्य ढोकाको ताला तोडेर कैदीबन्दीलाई भाग्न सहयोग गरेको थियो। कारागारमा ४५३ पुरुष र २६ महिला गरी कुल ४७९ जना कैदीबन्दी रहेका थिए।

“भागेकामध्ये २१ जना फर्किएका छन्,” प्रशासक जोशीले जानकारी दिए, “केही सम्पर्कमा आएका छन् र फर्किने इच्छा व्यक्त गरेका छन् तर कफ्र्यू आदेशका कारण तत्काल आउन नसकेको बताएका छन्।”

हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीको खोजतलासका लागि प्रहरीले परिचालन गरेको छ। कारागारमा सबैभन्दा बढी १६९ जना लागुऔषध मुद्दाका कैदीबन्दी रहेको जोशीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई शीघ्र कारागार कार्यालय वा नजिकैको सुरक्षा निकायमा सम्पर्कमा आउन आग्रह गरेको छ। सूचनामा सम्पर्कमा नआउनेहरूविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।