काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका व्यक्तिहरूमा मतैक्य देखिएपछि नेपाली सेनाले समूहको एक-एक जना व्यक्तिलाई वार्तामा पठाउन आह्वान गरेको छ।

बुधबार बेलुका जेन-जीको समूहका प्रतिनिधि भन्दै अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति भएको भनेर सैनिक मुख्यालय पुगेको थियो। अर्को समूहले कार्कीको नाम स्वीकार गर्न नसकिने बताउँदै मुख्यालयबाहिर नाराबाजी गर्‍यो।

आन्दोलनकारीबीचमै मतभिन्नता देखिएपछि सेनाले जंगी अड्डाबाहिर माइकिङ गर्दै समूहको ‘ग्रुप लिडर’ बनाएर पठाउन भनेको हो।

१० वा १५ जनाको एउटा समूह बनाउन र त्यसको एउटा प्रतिनिधिलाई मात्रै वार्तामा पठाउन आह्वान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

जेन-जीको देशव्यापी आन्दोलनमा तोडफोड, आगजनी र सार्वजनिक क्षति भएपछि सेनाले बुधबार राति १० बजेदेखि परिस्थिति आफ्नो नियन्त्रणमा लिएको छ। बिहीबार पनि आन्दोलन भइरहेका छन्। कारागारबाट कैदीबन्दी भागिरहेका छन्। परिस्थिति केही नियन्त्रणमा आए पनि पूरै शान्त हुन सकेको छैन। 

बुधबारै सेनाले वार्तामा आउन आन्दोलनरत् पक्षलाई आह्वान गरेको थियो। जेन-जी समूह दिनभर छलफलमा बसेर कार्कीको नाम लिएर जंगी अड्डा पुगेको थियो। त्यहाँ पुग्दा उनीहरू विभाजित देखिए।

यसैबीच, सेनाले गत चैतमा जंगी अड्डामा राजसंस्था पक्षको आन्दोलन चलाएका दुर्गा प्रसाईंसँग छलफल गरेको छ। सेनाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेतलाई समेटेर वार्ता गर्नुपर्ने बताएको भन्दै जंगी अड्डा पुगेका जेन-जीका प्रतिनिधि असहमति राखेर बाहिरिएका थिए।