काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
तस्बिरहरू : सुशीलबाबु थकाली/रासस
अ+
अ-

गोरखा। हिमाली भेग गोरखाका बगैँचामा यतिबेला धमाधम स्याउ टिप्ने काम सुरु भएको छ। चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित २,६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालि को बगैँचामा गाला जातको स्याउ टिपिसकिएको सञ्चालक लाक्पा डुण्डुप लामाले जानकारी दिए।

लामाका अनुसार अहिले गोल्डेन जात टिप्ने तयारी भइरहेको छ भने अर्को महिनाभित्रै फुजी स्याउ पनि टिप्ने बेला आउनेछ। यसपटक गाला जातकै करिब १० हजार किलो उत्पादन भएको छ। “दुई ट्रक स्याउ काठमाडौँ पुर्‍याइसकेका छौँ, भाटभटेनी सुपरमार्केटसँग आपूर्ति गर्ने समझदारी छ,” लामाले बताए।

चार वर्षअघि लगाइएको उक्त बगैँचामा हाल १२ हजार ५०० बोट स्याउ फलेका छन्। उहाँले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नाममा ब्रान्डिङ गरेका छन् ।

यसैगरी, चुमनुब्री–२ ल्होमा करिब २,७०० मिटर उचाइमा रहेको मनास्लु फर्म तथा लर्निङ सेन्टर का सञ्चालक छिरिङ लामाको बगैँचामा पनि लटरम्म स्याउ पाकेका छन्। गाला, फुजी र गोल्डन डेलिसियस जातका स्याउ फलेका यस बगैँचामा असोज पहिलो साताभित्रै टिप्ने काम सुरु हुने बताइएको छ।

लामाले गत वर्ष ८ हजार किलो स्याउ उत्पादन गर्नुभएको थियो भने यस वर्ष करिब १० हजार किलो उत्पादन हुने अनुमान गरेका छन्। “यहाँको स्याउ आकारमा सानो भए पनि निकै रातो, स्वादिलो र आकर्षक हुन्छ,” उनले भने।

गण्डकी प्रदेश सरकारको साझेदारीमा कृषि ज्ञान केन्द्रमार्फत किसानलाई इटलीबाट आयात गरिएका गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातका उन्नत बिरुवा ७० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। यसैको परिणामस्वरूप यहाँका स्याउ बगैँचाले अध्ययन केन्द्रको रूप पनि लिन थालेको छ।

“हाम्रो उद्देश्य उत्पादन मात्र होइन, स्याउ खेतीमा रुचि राख्नेका लागि अध्ययन केन्द्र बनाउनु पनि हो,” मनास्लु स्याउ का उत्पादक छिरिङ धार्केले बताए। उनका अनुसार अध्ययन गर्न आउने विद्यार्थीलाई निःशुल्क आवास र खानाको व्यवस्था गरिन्छ। गाउँपालिकाभर स्याउखेती सफल हुने भएकाले अरू किसानलाई पनि व्यावसायिक रूपमा प्रोत्साहन गर्न चाहना रहेको धार्केको भनाइ छ।