काठमाडौ। नेपाल पत्रकार महासंघले देश संक्रमणकालीन अवस्थामा रहेकोले छिटो सुरक्षित अवतरण आवश्यक रहेको जनाएको छ।
महासंघले जेनजी पुस्ताका मागमाथि गम्भीर विमर्श गरी त्यसलाई सम्बोधन गर्नुपर्ने औँल्याउँदै, “देशमा व्याप्त भ्रष्टाचार र वेथितिविरुद्ध उठेको युवाको आवाजलाई दबाउन गरिएको सरकारी दमन निन्दनीय छ,” भनेको छ।
सरकारले राजीनामा दिएकाले र नयाँ सरकार गठन नभएकाले संविधान र संवैधानिक प्रक्रियामार्फत मात्रै लोकतन्त्रलाई सुदृढ बनाउन सकिने महासंघको धारणा छ।
विज्ञप्तिमा उल्लेख छ, “अहिले देशैभरी पत्रकारहरूले असुरक्षित महसुस गरिरहेका छन्। चार जना पत्रकार गोली लागेर घाइते भएका छन्। धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएका छन्। आन्दोलनको क्रममा पत्रकार र मिडियालाई निशाना बनाउनु आपत्तिजनक विषय हो।”
महासंघले राज्यसँग मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिन, प्रेसमाथि निशाना नबनाउन र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन आग्रह गरेको छ।