काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। स्पेनको मेड्रिडमा अमेरिकी र चिनियाँ उच्चस्तरीय व्यापार वार्ता सुरु हुनुअघि चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर उद्योगलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट आयात गरिने एनालग आइसी चिप्स माथि एन्टि-डम्पिङ अनुसन्धान सुरु गरेको घोषणा गरेको छ। अनुसन्धानको दायरा इन्टरफेस आइसी चिप्स र गेट ड्राइभर आइसी चिप्स सम्म सीमित हुने जनाइएको छ, जुन टेक्सास इन्स्ट्रुमेन्ट्स र ओएन सेमिकन्डक्टर जस्ता अमेरिकी कम्पनीहरूबाट आपूर्ति हुने गर्छन्।

साथै, मन्त्रालयले चीनको चिप उद्योगमाथि अमेरिका द्वारा लिइएका कदमहरूलाई “भेदभावपूर्ण” ठहर गर्दै छुट्टै भेदभाव विरोधी जाँच समेत सुरु गरेको छ।

चीनको यो कदम अमेरिकाले २३ चिनियाँ कम्पनीलाई ‘एकाइ सूची’ (Entity List) मा थपेको भोलिपल्ट आएको हो। तीमध्ये दुई कम्पनीमाथि एसएमआईसी (SMIC) नामक प्रमुख चिनियाँ चिप उत्पादकका लागि चिप उत्पादन उपकरण आपूर्ति गरेको आरोप लागेको छ। सूचीमा सूचीकृत कम्पनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति हितविरुद्ध काम गरेको आरोप खेप्ने छन्।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग आगामी आईतबारदेखि बुधबारसम्म मेड्रिडमा भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। यस वार्तालाई व्यापार तनाव न्यूनीकरण, पारस्परिक कर स्थगन, र द्विपक्षीय समझदारी सुदृढ गर्ने प्रयासको निरन्तरता मानिएको छ।

यसअघि मे महिनामा जेनेभा, जुनमा लन्डन र जुलाईमा स्टकहोममा दुई देशबीच व्यापार वार्ता भएका थिए। ती छलफलहरूले ९०–९० दिनको अस्थायी कर विराम ल्याएका थिए, जसले पूर्ण व्यापार युद्धको सम्भावना टारेको थियो।

स्टकहोम वार्तालाई “धेरै परिणाममुखी” भन्दै अर्थमन्त्री बेसेन्टले भनेका छन्, “हामीले दुर्लभ खनिज तत्व, अर्धचालक, र औषधि जस्ता रणनीतिक क्षेत्रहरूमा जोखिम कम गर्न तथा सम्बन्ध सन्तुलनमा ल्याउन सम्भावित उपायहरूमाथि छलफल गरेका छौँ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यसपछि जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टर प्रविधिमा पहुँच नदिन नीतिगत प्रतिबन्धहरू लागू गरेका छन्। वाशिङ्टनले यी कदमहरूलाई राष्ट्रिय सुरक्षासँग जोडेको भए पनि, चीनले भने यसलाई आफ्ना प्रविधिक विकास रोक्न अमेरिकी रणनीतिका रूपमा व्याख्या गर्दै आएको छ।

चीनद्वारा सुरु गरिएको पछिल्लो अनुसन्धानले मेड्रिड वार्ता सुरु हुनुअघि नै तनावको संकेत दिएको छ, जसले वार्ताको स्वरूप र सम्भावित परिणाममा प्रभाव पार्न सक्छ।