काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। कतार विश्वकप २०२२ जितेयता अर्जेन्टिनाले पहिलोपल्ट फिफा वरीयतामा आफ्नो शीर्ष स्थान गुमाएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा अर्जेन्टिना दुई स्थान तल झरेको हो।

१८ डिसेम्बर २०२२ मा भएको विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै तेस्रोपल्ट उपाधि उचालेको थियो। त्यसयता अर्जेन्टिना दुई वर्ष नौ महिना वरीयताको शीर्ष स्थानमा रहेको थियो।

सन् २०२४ को कोपा अमेरिका विजेतासमेत रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा नौ अंकको अग्रता कायम गरेको थियो। यद्यपि अन्तिम चरणको खेलमा दोस्रो स्थानको इक्वाडोरसँग १–० ले पराजित भएको थियो।

स्पेन भने एक दशकपछि शीर्ष स्थानमा उक्लिएको छ। स्पेन अन्तिमपटक जुन २०१४ मा पहिलोपल्ट शीर्ष स्थानमा पुगेको थियो। त्यस समय स्पेनको ‘गोल्डेन युग’ अन्त्य हुने संघारमा थियो। सो युगमा स्पेनले सन् २००८ देखि २०१२ सम्म दुई युरो कप र एक विश्वकप जितेको थियो।

यता, कतार विश्वकपमा अर्जेन्टिनासँग पराजित भएको फ्रान्स भने एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ।