काठमाडौं। लगानीकर्ताको तीव्र विरोधपछि नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तिम १५ मिनेटको कारोबारको आधारमा मूल्य निर्धारण गर्ने नियम हटाउने तयारी गरेको छ। बोर्डले छ महिनाअघि लागू गरेको यो नियम अब आगामी कारोबार सत्रदेखि हटाउने गरी छलफल भइरहेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत चैत ७ गतेदेखि लागू गरेको नियमअनुसार, दिउँसो २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्मको कारोबार मूल्यको भारित औसतलाई अन्तिम कारोबार मूल्यका रूपमा लिन थालिएको थियो। तर, सो व्यवस्था लागू भएयता बजारमा मूल्य चलखेल र कृत्रिम उतारचढाव बढेको भन्दै लगानीकर्ताहरू लगातार असन्तुष्ट हुँदै आएका थिए।
यही असोज २ गते बिहीबार बोर्ड कार्यालयअगाडि लगानीकर्ताहरूले प्रदर्शन गर्दै नियम तत्काल खारेज गर्न माग गरेका थिए। लगानीकर्ताको दबाबसँगै बोर्डभित्र नियम फिर्ता गर्ने प्रस्तावमा उच्चस्तरीय छलफल अघि बढाइएको छ।
बोर्डका अनुसार, लगानीकर्ताको चासो र बजारको अवस्था हेरेर यो नियम हटाउनेबारे छलफल अन्तिम चरणमा छ, आवश्यक प्रक्रिया पूरा गरेर चाँडै सूचना सार्वजनिक गरिने बोर्डले जनाएकाे छ । यसअघि मूल्य निर्धारणमा पारदर्शिता र बजारको स्थायित्व कायम गर्ने उद्देश्यले सो नियम लागू गरेको भए पनि व्यवहारमा उल्टो असर देखिएको भन्दै यसलाई हटाउने तयारी गरिएको बोर्डले जनाएकाे छ ।
नयाँ निर्णयसँगै नेप्सेले पहिलेको जस्तै अन्तिम कारोबार मूल्यलाई नै आधार मान्ने प्रणालीमा फर्किने संकेत देखिएको छ। बोर्डले लगानीकर्ताको विश्वास कायम राख्न र बजारमा स्थायित्व ल्याउन नीति पुनरावलोकन गर्न थालेको विश्लेषण गरिँदैछ।