काठमाडौं। काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा लागू गरेको छात्रवृत्ति सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनपछि एकै शैक्षिक सत्रमा २० हजार २८२ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। महानगर प्रमुख बालेन शाहका अनुसार चालु शैक्षिक सत्र २०८२ मा वितरण गरिएको छात्रवृत्तिको कुल रकम झन्डै २ अर्ब २५ करोड रुपैयाँ बराबरको छ।
शिक्षा ऐन, २०७५ अनुसार सञ्चालनमा ल्याइएको छात्रवृत्ति कार्यक्रमको पहिलो वर्षमा १३ हजार, दोस्रो वर्षमा १९ हजार र तेस्रो वर्षमा २०,२८२ विद्यार्थीले छात्रवृत्तिको लाभ लिएका हुन्। महानगरपालिकाका अनुसार यस वर्ष कक्षा १ देखि १० सम्मका १६,९८० विद्यार्थी र कक्षा ११ का ३,३०२ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।
हालसम्म ४४० विद्यालयले छात्रवृत्ति सम्बन्धी विवरण महानगरमा बुझाइसकेको छ। तर, केही विद्यालयहरूले अझै विवरण नबुझाएको भन्दै यथाशीघ्र विवरण पेश गर्न महानगरले आग्रह गरेको छ। मेयर शाहले विवरण बुझाउन असफल हुने विद्यालयलाई ‘बन्द विद्यालय’ को रूपमा कारबाही गर्ने चेतावनी दिएका छन्।
छात्रवृत्तिसम्बन्धी सबै विवरणहरू महानगरको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको महानगरले जनाएको छ। विवरणमा कुनै अस्वाभाविकता देखिएमा शिक्षा विभागमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।