दाङ। दाङमा भएको सवारीसाधन दुर्घटनामा एक वर्षको अवधिमा ७२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २३२ जना सख्त घाइते भएका छन्।
ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक केशव खड्काका अनुसार दाङमा आव २०८२/८३ मा ३४७ सवारीसाधन दुर्घटना भए। जसमा ५० पुरुष, १९ महिला र तीन बालबालिकाको मृत्यु भएको हो।
खड्काका अनुसार दुर्घटनामा १६३ पुरुष, ४७ महिला, १६ बालक र ६ बालिका सख्त घाइते भएका छन्। त्यस्ता दुर्घटनामा सबैभन्दा बढी २८१ वटा मोटरसाइकल थिए।
तुलसीपुर उपमहानगरपालिका ९‚ दुधेनाको चमिखोलामा गत ५ चैतमा टिपरको ठक्करबाट स्कुटरमा रहेकी तुलसीपुर ९ की ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो। यस्तै ३ चैतमै गढवा गाउँपालिका ५‚ बाँकीगाउँमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो। जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले यी दुवै दुर्घटना चालकले तीव्र गतिमा सवारीसाधन चलाएका कारण भएको निष्कर्ष दिएको छ।
खड्काका अनुसार दुर्घटना हुनुका मुख्यकारण तीव्र गति र मादकपदार्थ सेवन, चालकको लापरबाही, सडकको अवस्था, यान्त्रिक गडबडी छन्।
प्रहरीले दुर्घटना दोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ।
यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले जथाभावी सडक वारपार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ।