काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२’ को मिति घोषणा भएको छ। मञ्चले बुधबार काठमाडौँमा कार्यक्रम गर्दै अवार्डको २३औँ संस्करण १८ भदौमा नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको हो।

अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो। दुईबीच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो। जुन दोस्रो वर्षमा चलिरहेको छ।

सम्झौतापत्रमा मञ्चका अध्यक्ष नीरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे। हस्ताक्षरपछि निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरू निरन्तर लागिपरेको जानकारी गराए। “मञ्चसँग हामी लगातार १९ वर्ष जोडिन पाउँदा गर्व गर्छौं। हामी खेलकुदमा लगातार सँगै हिँडिरहेका छौँ।”

मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँग लगातार हातेमालो गर्दा अवार्डलाई झनै व्यवस्थित र निरन्तरता दिन सहज भएको बताए।

मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्टस् अवार्ड २०८२ मा नौ विधामा अवार्ड प्रदान गरिने जानकारी गराए। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स् जर्नालिस्ट अवार्ड छन्।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्काले जानकारी गराए। यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ। मनोनयनमा ५-५ जना रहने प्रावधान छ।

लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिटै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराए।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानितलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ। यसैगरी अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ।