कुनै समय थियो, दसैँ आउनु महिना दिनअघिदेखि नै काठमाडौँ उपत्यकाको आकाश चंगाले ढाकिन्थ्यो। यत्रतत्र चंगा उडाउनेहरूको उमंगले शरद ऋतुको रमणीय यामलाई उत्सवमय बनाउँथ्यो। चाडलाई निम्ता दिन्थ्यो।
तर पछिल्ला दशकमा दसैँकै बेला पनि उपत्यकामा चंगा उडाउने क्रम पातलिँदै गयो। एकातिर इन्टरनेट र डिजिटल प्रविधिमा सहज पहुँचका कारण मानिसहरूले घरभित्रै रमाउने विकल्प पाए, अर्कातिर घना बस्तीका कारण खुला ठाउँ मासिँदै जाँदा चंगाको उडान थामिँदै गयो।
सूचना–प्रविधिले छोपेको जमानामा पनि यो शारदीय चाडमा छिटफुट रूपमा चंगा उडाइरहेका युवाहरू शहरमा अझै भेटिन्छन्। जसले दसैँको आकाश थोरै भए पनि सजाएका छन्। दसैँ नजिकिँदै गरेको हालैको एक साँझ बगलामुखी, ललितपुरस्थित एउटा घरको कौसीमा यस्तै चंगाप्रेमी समूह देखियो।
आशा गरौँ, अहिले फाट्टफुट्ट उडाइएको देखिने चंगाको लस्करले फेरि आकाश ढाकोस् र चाडको उमंग सञ्चार गरोस्।