कीर्तिपुरबाट काठमाडौँ उपत्यकातिरको दृश्य कैद गरिएको यस तस्बिरमा प्रि-मनसुनको सक्रियता स्पष्ट देखिन्छ। उपत्यकाको आकाशमाथि बाक्लो कालो बादल मडारिँदै छ, मानौँ केही क्षणमै पानी पर्नेवाला छ।
मौसमविद्हरूका अनुसार नेपालमा प्रि-मनसुन प्रणाली मार्च, अप्रिल र मे गरेर तीन महिना (मनसुन नभित्रेसम्म) रहन्छ। यस अवधिमा पश्चिमी वायु तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहने हुँदा मौसमी प्रणाली छिनमै फेरबदल भइरहन्छ। छिनमै बादल लाग्ने, हल्कादेखि, मध्यम र भारी वर्षा हुने, हावाहुरी चल्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम चल्ने जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेल बताउँछिन्। उनका अनुसार यस वर्षको प्रि-मनसुन सरदरभन्दा बढी सक्रिय छ। “हरेक दिनजसो नै वर्षा भइरहेको छ,” उनी भन्छिन्। २४ वैशाख २०८२ सम्म प्रि-मनसुन अवधिभरमा पर्ने कुल वर्षादरको ८९.५ प्रतिशत अर्थात २०४.९ मिलिमिटर वर्षा भएको उनको भनाइ छ।