काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० आश्विन २०८२
सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि अवरूद्ध बनेको मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-तम्घास सडकखण्ड । तस्बिर : जनार्दन घिमिरे/ रासस
अ+
अ-

काठमाडौं। शनिबार र आइतबार परेको अभि भारी वर्षाका कारण देशका प्रमुख राजमार्गहरू विभिन्न ठाउँमा अवरुद्ध भएका छन्। राजमार्गहरूमा कहीँ पहिरो खस्ने र कहीँ पुल तथा डाइभर्सन खोलाले बगाउँदा राजमार्गहरूमा सम्पर्क टुटेका छन्।

वर्षाका कारण कोशी राजमार्ग, कान्ती लोकपथ लगायत प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज विहान सार्वजनिक गरेको विवरणअनुसार, कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धिचरण लोकपथ, मध्यपहाडी लोकमार्ग र मेची राजमार्गमा पूर्ण रूपमा अवरोध छ।

बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड गाउँपालिकामा नेपाल र चीन जोड्ने नाका सञ्चालनमा छैन।

पासाङल्हामु सडक खण्डका तीन ठाउँमा पूर्णरूपमा अवरोध छ।

सिन्धुपाल्चोकमा भोटेकोशी गाउँपालिकाको ४ किलो भन्ने ठाउँमा सडकमा पहिरो आउँदा तातोपानी जानेबाट पूर्णरूपमा अवरुद्ध छ।

सिन्धुलीमा विपि राजमार्गको डाइभर्सन रोशी खोलाले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध छ। नेपालथोक नजिकै पनि सडक प्रयोग गर्न नसकिने अवस्थामा छ।

कान्ती लोकपथमा भीमफेदी–८ वगुवा खोला नजिकै शनिबारदेखि सडक अवरुद्ध छ। कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक पनि सिस्नेरी बजार नजिकै अवरुद्ध छ।

मदन भण्डारी राजमार्गमा मरिण–२ सिन्दुरेमा भएको अवरोध केही मात्रामा पन्छाएपछि एकतर्फी रुपमा सडक खुलेको छ।

मध्यपहाडी लोकमार्ग इलामको फिक्कलमा अवरुद्ध छ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ बरूणखोलामा कोशी राजमार्ग अवरुद्ध छ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सिद्धिचरण राजमार्ग अवरुद्ध छ। उदयपुरको कटारीमा पनि सो राजमार्ग असोज १८ गतेदेखि पूर्ण अवरुद्ध छ।

मेची राजमार्ग इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायतका स्थानहरूमा अवरुद्ध छ।

प्रहरीका अनुसार रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काभ्रेपलान्चोक, मकवानपुरमा पनि विभिन्न स्थानहरूमा विभिन्न सडकहरू अवरुद्ध छन्।

सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरेमा मदन भण्डारी राजमार्ग एकतर्फी रूपमा सञ्चालित छ भने फिक्कलमा मध्यपहाडी राजमार्ग र सुनकोशी–१ नेपालथोकमा विपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।