सचिवालय बैठकको निर्णय
एमाले सचिवालय बैठकले गर्यो प्रतिनिधिसभा पुन:स्थापनाको माग
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ।
भक्तपुरको गुन्डुमा आइतबार बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। केन्द्रीय कमिटी बैठक भने असोज २९, ३० र ३१ गते बस्दै छ।
एमालेको १०औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। अहिलेको केन्द्रीय कमिटीको कार्यकाल ५ वर्षका लागि भए पनि एमालेले १ वर्षअगावै महाधिवेशन गर्न लागेको हो। यसले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
एमालेले दोस्रो विधान महाधिवेशन गरेर नीति र विधान तय गरिसकेको छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको थियो।
प्रवक्ता ज्ञवालीका अनुसार बैठकले प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग पनि गरेको छ। ‘प्रतिनिधिसभा विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ ज्ञवालीले भने।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटन भएको थियो।
उनले सरकार मुठभेडको बाटोतर्फ अघि बढिरहेको पनि बताए। सबैलाई एकताबद्ध भएर अघि बढ्न बैठकले आग्रह गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।