काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना र निर्माण कम्पनीविरुद्ध मुद्दा

२७ आश्विन २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाको सडक निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले भेरी नगरपालिकाको कारागार रानागाउँ नेटबजार सडक निर्माण आयोजनासम्बन्धी ठेक्कामा अनियमिता भएको ठहर गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधान उल्लघंन गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा भेरी नगरपालिकाका तत्कालीन र हाल कार्यरत सात जना कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आरोपितहरूमा भेरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, विकास अधिकृत अनिश शाह, कानुन अधिकृत प्रकाशकुमार शाही, लेखापाल राजेन्द्रबहादुर कठायत, नासु कृतिबहादुर थापा, ठेकेदार कम्पनी थापा/सविन/सुदर्शन जेभीका प्रतिनिधि तथा सेवा प्रालिका प्रोप्राइटर दीपकबहादुर खत्री छन्।

उनीहरूमाथि समान ८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। आयोगले दायर गरेको आरोपपत्रमा सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवानाको माग गरिएको छ।

अख्तियारका अनुसार आव ०८०/८१ को संघीय, प्रदेश र स्थानीय सरकारको समपूरक अनुदानअन्तर्गत स्वीकृत कारागार रानागाउँ नेटीबजार सडक निर्माणको लागि २ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो।

नगर कार्यपालिकाले भ्याट, पीएस र कन्टिजेन्सीसमेत २ करोड ८० लाख ४२ हजार ७४३ रुपैयाँ ११ पैसा रकमबराबरको लागत अनुमानमा कारागार रानागाउँ नेटीबजार सडकका लागि बोलपत्र आह्वान गरेको पाइएको छ।