काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ आश्विन २०८२
एन्फा महासचिव किरण राई
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि आफैँले प्रस्ताव गरेको ‘होम एन्ड अवे फर्म्याट’मा सहिद स्मारक ‘ए’ डिभिजन लिग नगर्ने भएको छ। एन्फाले क्लबहरूको सुझावका आधारमा तत्काल उक्त फर्म्याट सम्भव नदेखिएको भन्दै पुरानो फर्म्याटमै फर्किन लागेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासचिव किरण राईले शीर्ष डिभिजन क्लबहरूले ‘होम एन्ड अवे’ लिगका लागि लामो तयारी समय मागेको बताए। त्यसैका कारण तत्काल यो फर्म्याट जान नसकिएको उनले जिकिर गरे। “क्लबहरूले कम्तीमा ८ देखि १० महिनाको तयारी समय लाग्ने बताएका छन्। त्यत्रो समय यसै बस्न नसक्ने भएकाले तत्कालका लागि पुरानै ढाँचामा लिग सञ्चालन गर्ने निष्कर्षमा पुगेका हौँ,” उनले भने।

धुलिखेलमा गत वैशाखमा भएको साधारणसभाबाट क्यालेन्डर पारित गर्दै एन्फाले ‘ए’ डिभिजन लिग १ पुसदेखि ३१ जेठ २०८३ सम्म गर्ने तय गरेको थियो। त्यसपछि गत १५ भदौमा पुन: क्लबहरूसँग छलफलमा एन्फाले लिग ९ पुस २०८२ देखि सुरु गर्ने योजना बनाएको थियो। उक्त बैठकमै उनले यस लिगलाई ‘होम एन्ड अवे’ फर्म्याटमा सञ्चालन गर्ने योजना अघि सारेका थिए। तर, त्यसकै डेढ महिनापछि नै एन्फा पछाडि सरेको हो।

राईका अनुसार एन्फाले छठ पर्वपछि क्लबहरूसँग पुनः छलफल गरेर लिगको अन्तिम स्वरूप तय गर्नेछ। उनले भने, “टप टायर लिगमा राष्ट्रिय लिग र ए डिभिजन पर्छन्। कुन गर्ने, कसरी गर्ने भन्नेबारे छलफलपछि निष्कर्ष निकाल्नेछौँ।” २०७९/८० को लिग २७ जेठ सकिएदेखि अहिलेसम्म नयाँ लिग सुरु भएको छैन। पछिल्लो सिजन चर्च ब्वाइज युनाइटेडले ४८ अंकसहित डेब्युमै लिग उपाधि जितेको थियो।

त्यसयता घरेलु फुटबल स्थिर नहुँदा खेलाडीहरूको विदेश मोह झन् बढ्दै गएको छ। कप्तान किरणकुमार चेम्जोङसहित केही शीर्ष खेलाडीहरू भने बाङ्लादेशी र कम्बोडियन लिग खेलिरहेका छन्।