काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकमा उनले सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।
“देशभर तोडफोड र विध्वंश भइरहेका बेला चीनमा रहनुभएका जनमतका अध्यक्ष डा. सीके राउतजीले मलाई राजीनामा दिन निर्देशन दिनुभयो। मैले प्रदेश प्रमुखज्यूसमक्ष नै राजीनामा दिने कुरा राख्दा त्यो नगर्न अध्यक्षज्यूको निर्देशन थियो,” उनले भने।
सम्बोधनका क्रममा उनले आफूले अध्यक्ष राउतको निर्देशनबमोजिम सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको दाबी गरे। आफूले भदौ २८ गते नै राजीनामा दिने तयारी गरिरहँदा आफूलाई नसोधी जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीलाई फिर्ता बोलाइएको पत्र सार्वजनिक भएकामा उनले गुनासो गरे।
प्रदेशसभामा सम्बोधनका क्रममा उनले आफू मुख्यमन्त्री बनेकै दिनदेखि जनमत पार्टीका नेता महेश यादवले कांग्रेससँग मिलेर षड्यन्त्र सुरु गरेको आरोप पनि लगाए।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी छन्। प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अर्को व्यवस्था नभएसम्मका लागि सिंह नेतृत्वको मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।
सिंहले २०८१ जेठ २४ गतेदेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए। सरकारमा सहभागी जनमत पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिने निर्णय गरेका थिए। तर, प्रदेशसभामा सम्बोधन गरेपछि उनले राजीनामा दिएका हुन्।
संवैधानिक व्यवस्थाअनुसार अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्नेछ। नयाँ मुख्यमन्त्री नियुक्त नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले कार्यवाहक रूपमा प्रदेश सरकारको जिम्मेवारी सम्हाल्नेछ। मधेस प्रदेशसभामा कुनै दल वा गठबन्धनले बहुमत प्राप्त गरेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्।