काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रबार सार्वजनिक गरिएको छ। गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ। जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ।
गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्। उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।
गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा चलचित्रका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबीचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोले चलचित्रको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ।
‘धागो’ आगामी कात्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको चलचित्र हो। यसको निर्देशन उदीप राणा थापाले गरेका हुन्। म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले निर्माण गरेको यस चलचित्रको निर्माता उमा थापा, उत्तम थापा र उदीप थापा हुन्। प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह-निर्माता हुन्। अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा छन्।
चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेको छ। चलचित्रमा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभी थापा, बुद्धि तामाङ, सुनील थापा, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, पप्पु विश्वकर्मालगायत कलाकारको अभिनय छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।