ललितपुर। ललितपुर महानगरपालिका १६, धौगलबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एकजना भारतीयलाई पक्राउ गरेको छ।
भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला घोरसहन घर भएका ३१ वर्षीय अभिषेक शेखलाई बिहीबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। शेखले विगत केही वर्षदेखि अवैध रूपमा भारतबाट चाँदीका गरगहना नेपाल ल्याई बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गण ललितपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको थापाले बताए।

उनको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना, १२ लाख ९१ हजार ९० रुपैयाँ नेपाली नगद, १२ सय ७० भारतीय रुपैयाँ, साथै चाँदी तौलने मेसिन, इलेक्ट्रिक स्केल, आइप्याड र मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद चाँदी, नगद तथा अन्य सामानसहित पक्राउ परेका शेखलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको पनि थापाले जानकारी दिए।