काठमाडौँ। चालु आवको सुरुआती तीन महिनामा ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो ।
चालु आवमा सातवटा ठुला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । विभागकाअनुसार गत असोजमा मात्र ७५ वटा साना उद्योगमा दुई अर्ब चार करोड ५७ लाख ३२ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा ६ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ ।
गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो ।
उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख रुपैयाँ, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड रुपैयाँ र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।