सिरहा। सिरहाको मिर्चैया नगरपालिका ३ स्थित छड्की टोलमा एक परिवारमाथि आक्रमण हुँदा चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनकी पत्नी दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन् । सख्त घाइते रीतालाई उपचारका लागि जनकपुर पठाइएको छ। अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।
पीडितका अनुसार १५/२० जनाको समूहले आइतबार साँझ घरमै आएर खुकुरी, रड, भाटालगायत हतियारले आक्रमण गरेका थिए। प्रहरीले घटनामा संलग्नताको आरोपमा आज (सोमबार) मिर्चैया ३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।