महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप दुई लाख रुपैयाँ सहयोग गर्न लागिएको जानकारी दिए। यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दुई लाख रुपैयाँका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियो। सोहीअनुसार यसअघि मृतक सातजनाका परिवारलाई सहयोग रकम दिइसकेको र अब विपिनको परिवारलाई पनि सहयोग गरिने शाहको भनाइ छ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये १० नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए। मुख्यमन्त्री शाहले विपिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना व्यक्त गरेका छन्।
यसैबीच विपिनको पार्थिव शरीर आज (सोमबार) साँझ सेनाको स्काई ट्रकबाट धनगढी विमानस्थलमा पुर्याइएको छ। पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर लगिएको हो।
यो पनि…