काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ कार्तिक २०८२
अ+
अ-

२८ असोज २०८२ मा काठमाडौँ महानगरपालिका-१३ ताहाचलमा विस्फोटक पदार्थ (पटाका) राखिएको गोदाममा प्रहरीले छापा मार्‍यो। छापा मार्दा भारतीय नागरिक ४८ वर्षीय सुनिल कुमार पक्राउ परे।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गोदामबाट एक हजार २७१ प्याकेट (१० बोरा) पटाका तथा आतसबाजी बरामद भएको थियो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार भारतीय नागरिक जिल्ला प्रहरी परिसरको हिरासतमा छन्।

३१ असोजमा जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको संयुक्त टोलीले तीन लाख ५० हजार रुपैयाँ बराबरको एक हजार २६२ प्याकेट पटाका बरामद गर्‍यो। ३१ गते नै प्रहरी वृत्त चापागाउँले १० हजार रुपैयाँ बराबरको २४ प्याकेट र प्रभाग सानेपाले सात हजार रुपैयाँ बराबरको नौ प्याकेट पटाका बरामद गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँले दसैँपछि तिहारसम्म १५ लाख रुपैयाँ बराबरको पाँच हजार २६० प्याकेट पटाका बरामद गरेको छ। प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई पहिलेको तुलनामा यसपालि पटाका निकै कम बरामद भएको बताउँछन्।

तिहारको बेला राजधानीबाट पटाका बरामदका यी केही उदाहरण हुन्। राजधानीमा पटाका र आतिसबाजीको आवाज निकै सुनिन्छ। केही परिमाणमा पटाका बरामद भए पनि प्रहरीले पटाकाको कारोबार रोक्न सकेको छैन। “हामीलाई सूचना प्राप्त भएका ठाउँमा कारबाही चलायौँ, जति नै कारबाही चलाए पनि पटाका किनबेच हुने क्रम रोकिएको छैन, यस्तो प्रवृत्ति विगतदेखि नै देखिन्छ,” प्रहरी उपरीक्षक आचार्य भन्छन्।

मोरङ, रतुवामाई नगरपालिका-७ ठाकुर चोकबाट २७ असोजमा एक लाख पाँच हजार रुपैयाँ बराबरको पटाका बरामद भएको थियो। प्रहरी उपरीक्षक कवित कटवालका अनुसार भारतबाट पटाका ल्याउने व्यक्ति प्रहरी देख्नासाथ फरार भए।

नेपालमा पाइने पटाका भारतीय बजारबाट लुकाएर ल्याइन्छ। भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी, मधेस प्रदेशका आठवटै जिल्ला र लुम्बिनी प्रदेशको रुपन्देहीलगायत जिल्लाबाट भारतीय पटाका नेपाल ल्याउने गरिएको छ। “तिनै पटाका राजधानीसम्म आउने हुन्, पूर्णत: पटाका रोक्न सकिएको छैन,” आचार्य भन्छन्।

नेपालमा कुनै उत्सव मनाउँदा पटाका पड्काएर ठूलो आवाज निकाल्ने गरिन्छ। तिहारमा सबैतिर अत्यधिक पटाका पड्काउने गरिएको पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी बताउँछन्। “खुसियालीका लागि आवाज निकाल्ने चलन छ, यो पूरै कहिले पनि रोकिन्न,” उनी भन्छन्।

पटाका पड्काउँदा सावधानी नअपनाउँदा मानिसको अंगभंग हुने, आँखामा असर पर्ने, आगलागीका घटना हुन थालेपछि प्रहरीले बरामद गर्न थालेको हो। “पहिले पहिले पटाकालाई प्रहरीले धेरै वास्ता गर्दैनथ्यो,” उनी भन्छन्, “अप्रिय घटना हुन थालेपछि नियन्त्रणमा लिन थालियो।”

पटाका विस्फोटक पदार्थमा पर्ने भएकाले प्रहरीले विस्फोटक पदार्थको ओसारपसार कसुरमा कारबाही अगाडि बढाउँछ। “अघिल्लो वर्षजस्तो ट्रकका ट्रक पटाका आएको देखिन्न, यसपालि पटाका महँगो भएको छ भन्छन्,” ठकुरी भन्छन्, “पटाका पड्केको आवाज त आइरहेको छ।”

तिहारमा जथाभाबी पटाका पड्काउने घटना नियन्त्रण गर्न प्रहरीले जसरी सकेको छैन, उसैगरी जुवाको सञ्जाल रोक्न पनि सकेको छैन । केही स्थानबाट जुवाडे पक्राउ परे पनि तिहारमा खुलेआम जुवा खेल्ने क्रम जारी छ। २ कात्तिकमा ललितपुर प्रहरी परिसरले दुई ठाउँबाट १७ जना जुवाडेलाई पक्राउ गर्‍यो। जुवाडेबाट १३ लाख ६९ हजार ६०० रुपैयाँ र २७ बुक तास बरामद भयो। ३ कात्तिकको मध्यराति दुई लाख ३१ हजार रुपैयाँसहित बूढानीलकण्ठ-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा प्रहरीले मध्यराति छापा मारेर नौ जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा रिसोर्ट सञ्चालक राकेश श्रेष्ठसमेत थिए।

कास्की प्रहरीले तिहारमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट ६ लाख रुपैयाँ नगद र तास–कौडा सहितका जुवाजन्य सामग्री बरामद गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए। जुवा नियन्त्रणका लागि चलाइएको निगरानी अभियानअन्तर्गत सोमबार साँझसम्म प्रहरीले तीन ठाउँमा छापा मारेको थियो।

प्रहरीले जति नै छापा मारे पनि जुवातास खेल्ने क्रम चलिरहेको छ। सडकमा चलाइने डाइस पनि जुवाजन्य खेल नै हो। त्यस्ता जुवाजन्य गतिविधि रोकिएका छैनन्। जुवाको समेत भिन्नै संस्कार छ। चाडबाडमा दाजुभाइ, दिदीबहिनी भेला हुँदा रमाइलोका लागि तास खेल्न बस्ने चलन छ। बाह्रैमास जुवा खेल्ने प्रवृत्तिसमेत छ।

चाडबाडमा रमाइलोका लागि खेल्दा सामान्य ठानिए पनि व्यावसायिक जुवाले भने घरबार नै समाप्त पार्ने गरेको छ। “नेपालीहरूको खै कस्तो संस्कार हो कुन्नि? वा, भनौँ मनोरञ्जनका साधन कम भएर हो कि,” ठकुरी भन्छन्, “जुवातास खेल्न बसिहाल्छन्।” जुवातास खेल्नेलाई प्रहरीले जुवा ऐनअन्तर्गत कारबाही गर्छ। व्यावसायिक रूपमा फस्टाएको जुवाले घरबार र सम्पत्ति नोक्सान हुने भएकाले यसलाई रोक्न सरकारले नै समाजमा सचेतनाका लागि पहल लिनुपर्ने उनी बताउँछन्।