काठमाडौँ। दृष्टिविहीन टी–२० महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाली टोलीले श्रीलंकासँग खेल्ने भएको छ। दृष्टिविहीन क्रिकेटको इतिहासमा पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको हो। यो ऐतिहासिक प्रतियोगिता नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा हुनेछ।
नेपालले श्रीलंकाविरुद्ध पहिलो खेल १२ नोभेम्बरमा नयाँ दिल्लीस्थित कर्नेल सिंह स्टेडियममा खेल्नेछ। दोस्रो खेल १४ नोभेम्बरमा भारतविरुद्ध बेंगलुरुको एमएएचई मैदानमा हुनेछ। त्यसपछि १५ नोभेम्बरमा इङ्ल्यान्ड र १६ नोभेम्बरमा अमेरिकाको सामना गर्दै टोलीले बेंगलुरुका खेलहरू समाप्त गर्नेछ। कोलम्बो पुगेर नेपालले १८ नोभेम्बरमा अस्ट्रेलिया र १९ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ।
फाइनल खेल नोभेम्बर २३ मा कोलम्बोमा हुने तय गरिएको छ। यद्यपि, मैदान भने अझै निश्चित गरिएको छैन। भारतको नयाँ दिल्ली र बेंगलुरुमा प्रारम्भिक चरणका खेलहरू हुनेछन् भने अन्तिम चरणका खेल श्रीलंकाको कोलम्बोमा हुनेछ।
प्रतियोगिताको उद्घाटन नयाँ दिल्लीमा हुनेछ। उक्त खेलमा आयोजक भारतले श्रीलंकासँग खेल खेल्नेछ। प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्ड सहभागी हुनेछन्।
नेपालको राष्ट्रिय दृष्टिविहीन महिला टोलीले यसअघि काठमाडौँमा १० दिने तयारी क्याम्प पूरा गरिसकेको छ। टोली अब पोखरा क्रिकेट मैदानमा अभ्यास सत्रमा व्यस्त रहनेछ।