काठमाडौँ। पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनका लागि इङ्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ। आगामी १ देखि २७ मंसिरसम्म आयोजना हुने एनपीएलका लागि टोलीले आफ्नो शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो।
रोसिङटनले घरेलु क्रिकेटमा लामो समय बिताएका छन्। आफ्नो खेल जीवनको सुरुआत मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए। काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी–२० फर्म्याटमा एक सय ८६ खेल खेलेका छन् र करिब तीन हजार पाँच सय ८६ रन बनाएका छन्।
दायाँ हाते ब्याटर र विकेटकिपर रोसिङटनले पावरप्लेमा बलियो सुरुआत गराउने टोलीले विश्वास लिएको छ।
रोसिङटनले पाकिस्तान सुपर लिगमा कराँची किङ्सबाट छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए।
रोसिङटनले पनि नेपालमा खेल्न पाउँदा आफू उत्साही भएको जनाएका छन् र पोखराका समर्थकहरूलाई उत्कृष्ट प्रदर्शन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।