काठमाडौं। चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज)मा नेपालबाट हुने निर्यात ८९.६४ प्रतिशतले बढेको छ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार, तीन महिनाको अवधिमा नेपालबाट ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।
नेपालबाट निर्यात हुनेमध्ये सोयाबिन सबैभन्दा धेरै छ। नेपालमै उत्पादन भएर धेरै निर्यात भएको भने होइन्। नेपालले अर्को मुलुकबाट आयात गरी मूल्य अभिवृद्धि गरेर निर्यात गरेको हो।
तीन महिनामा सबैभन्दा बढी मूल्यबराबरको निर्यात भारतमा भएको छ। नेपालबाट सोयाविन नै सबैभन्दा बढी भारततर्फ निर्यात हुन्छ। तीन महिनाको अवधिमा भारततर्फ ३० अर्ब ६९ करोड ७८ लाख बराबरको सोयाबिन निर्यात भएको छ।
भन्सार विभागका अनुसार असोजमा एक खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएको छ। गत वर्षको असोजमा एक खर्ब २८ अर्ब २० करोड ९६ लाख रुपैयाँको वस्तु आयात भएको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात १९.७९ प्रतिशतले बढेको छ। गत वर्ष तीन महिनामा तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएकामा यस वर्ष भने बढेर चार खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको छ। भन्सार विभागका अनुसार, साउन महिनामा एक खर्ब ४३ अर्ब ४ करोड र भदौमा एक खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको हो।