काठमाडौँ। आईसीसी विश्वकप लिग-२ को १५औँ चरणअन्तर्गतको पहिलो खेलमा अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो।
नेपालका लागि आरिफ सेख ३७, भीम सार्की २९, आरिफ सेखले २० र सोमपाल कामीले ११ रन बनाए। रोहित पौडेल, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने र कुशल भुर्तेलले दोहोरो अंकको स्कोर गर्न सकेनन्। दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए।
नेपाललाई सस्तैमा अलआउट गर्ने क्रममा हरमित सिंहले ६ विकेट लिए । शुभम रन्जानेले २ र रुशिल उगरकरले एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६२ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि समित पटेलले ७५, मिलिन्द कुमारले ७० र सैतेजा मुक्कामुल्लाले ४२ रन बनाएका थिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ सेख र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
यो जितपछि अमेरिका भने ३० अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालको १७ खेलबाट १२ अंक मात्र छ। स्कटल्यान्डसँग अंक बराबरी भए पनि रनरेटमा पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको हो।
नेपालले अब सिरिजको आफ्नो दोस्रो खेलमा बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यूएई भ्रमणका क्रममा नेपालले अब तीन खेल खेल्न बाँकी छ । यूएईको १६ खेलबाट मात्र ६ अंक छ।