काठमाडौँ। जेनजी आन्दोलनका क्रममा २४ भदौमा प्रहरी पोसाक लगाई प्रहरी कार्यालयमा आगजनी तथा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई अहिले गोकर्णेश्वर ४, तालिनचोक बस्ने १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भई हाल गोकर्णेश्वर ५, जोरपाटी बस्ने १८ वर्षीय समीर श्रेष्ठ र रामेछाप घर भई हाल गोकर्णेश्वर ५, जोरपाटी बस्ने १७ वर्षीय दिवस बस्नेत रहेका छन्।
प्रहरी वृत्त बौद्धको टोलीले बुधबार दिउँसो करिब ४ बजे गोकर्णेश्वर नगरपालिका ४, तालिनचोकबाट ती व्यक्तिहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रहरीको घर तोडफोडमा संलग्न पनि पक्राउ
यस्तै कागेश्वरी मनोहरा नगरपालिका ८, गणेश मन्दिरस्थित पूर्वप्रहरी उपरीक्षक (एसपी) कमलेन्द्र कर्णको घरमा भएको तोडफोड, आगजनी तथा लुटपाट घटनामा संलग्न भएको आरोपमा ३४ वर्षीय राजेन्द्र महत पक्राउ परेका छन्।
महत दोलखाको तामाकोसी गाउँपालिका ३, जामुने स्थायी घर भई अहिले कागेश्वरी मनोहरा नगरपालिका ७, थापाचोक बस्दै आएका थिए।
महतलाई बुधबार साँझ कागेश्वरी मनोहरा ८, गोठाटार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।