कांग्रेस
अब हुने केन्द्रीय समितिले महाधिवेशनको निर्णय गर्ने अपेक्षा
नेपाली कांग्रेस पार्टी इतिहासकै प्रतिकूल अवस्थामा रहेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाको प्रांगणमा उभिएर गएको सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलेको वाक्य हो यो। खड्काको कथनजस्तै कांग्रेस इतिहासको गम्भीर मोडमा मात्र छैन, अन्योलमै उभिएको छ।
जेन-जी विद्रोह र गुटगत राजनीतिले कांग्रेस थला पर्न लागेको छ। पार्टीभित्र जरा गाडेको गुटगत राजनीतिले पार्टी पंक्ति विषाक्त छ। त्यसैले कार्यवाहक सभापति खड्कासहित प्राय: कांग्रेसीहरू भन्दै छन्– पार्टीलाई सिटामोल खुवाएर, माइनर अप्रेसन गरेर होइन, मेजर अप्रेसन नगरी हुँदैन।
कतिसम्म भने, कांग्रेसमा अहिलेको अलमल महाधिवेशनसँग जोडिएको छ। नियमित कि विशेष महाधिवेशन भनेर नेताहरू विभाजित छन्। चाडबाडले स्थगित केन्द्रीय समिति बैठक १४ कात्तिकमा सुरु हुनेछ। त्यसले महाधिवेशनको मिति तोक्ने नेताहरूले दाबी गरेका छन्। कार्यवाहक सभापति खड्का नै केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति तय गर्ने बताउँछन्।
गएको शनिबार पनि सानेपाको एक होटलमा कार्यवाहक सभापति खड्काको नेतृत्वमा संस्थापननिकट केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। त्यस बैठकले अधिवेशनको मिति कसरी तोक्ने र आलोचकलाई कसरी सामना गर्ने भन्नेमा छलफल गरेको थियो।
यता, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउन ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गराएका छन्। विधानअनुसार विशेष महाधिवेशन गर्न संकलित हस्ताक्षर केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ। महामन्त्री थापाले नियमित महाधिवेशनबाट अहिलेको नेतृत्व बिदाइ गर्ने पक्षमा आफू रहेको बताउँदै आएका छन्। तर, उनी नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा पनि छन्।
यता, कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरू पनि नियमित महाधिवेशन गराउने पक्षमा छन्। त्यसैले पार्टीभित्र पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन पक्ष र महामन्त्रीद्वयले खडा गरेको विशेष महाधिवेशन पक्षधरहरू र डा. शेखर कोइराला पक्ष गरी तीन धार सक्रिय छन्। यसैको वरिपरि कांग्रेसको १५औँ महाधिवेशनको भविष्य छ। यी तीन धारका आआफ्ना स्वार्थ र दाउपेचका कारण कांग्रेस नियमित महाधिवेशन वा विशेष महाधिवेशनमध्ये कता जान्छ भन्ने अन्योल छ।
वैशाखमा नियमित महाधिवेशन गर्ने संस्थापनको तयारी
मंसिर २०७८ मा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो। पार्टी सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा चुनिएका थिए। उनले ८० प्रतिशत केन्द्रीय सदस्यसहित महाधिवेशनलाई आफ्नो पक्षमा पारेका थिए। जेन-जी आन्दोलनमा निजी निवास बूढानीलकण्ठमै आक्रमणमा परेका देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति सुम्पिएका छन्। खड्का कांग्रेसमा पहिलो वरीयताका उपसभापति हुन्।
कार्यवाहकको जिम्मेवारी लिएपछि खड्काले आफूनिकटलाई बोलाएर छलफल गरेका छन्। खड्का स्वयं नियमित महाधिवेशनका पक्षधर हुन्। खड्काले जिम्मेवारी लिएपछि कांग्रेस केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा देउवा समूहका केन्द्रीय नेताहरूले शंखमूलस्थित आरम्भ होटलमा पटक पटक छलफल गरेका थिए। उनीहरूले पार्टीलाई नियमित महाधिवेशनमा लैजानुपर्ने र आन्तरिक एकता प्रस्तुत गर्नुपर्ने निचोड निकालेका थिए। त्यसले कांग्रेसमा महाधिवेशनको दबाब बढाएको थियो।
गएको शनिबार पनि सानेपाको एक होटलमा कार्यवाहक सभापति खड्काको नेतृत्वमा संस्थापननिकट केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। त्यस बैठकले अधिवेशनको मिति कसरी तोक्ने र आलोचकलाई कसरी सामना गर्ने भन्नेमा छलफल गरेको थियो। “कोटरी बैठक थियो। फागुनमा चुनाव भए वा नभए पनि नियमित महाधिवेशन वैशाखमा गर्ने गरी तयारी गरौँ भन्ने हाम्रो मत छ,” बैठकमा सहभागी एक नेताले भने।
कांग्रेसमा अहिले तीन थरी समूह सक्रिय भए पनि पार्टी विभाजन नहुने महामन्त्री विश्वप्रकाश शर्माले सोमबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग बताए।
शनिबारकै छलफलअनुसार सोमबार मात्र कार्यवाहक सभापति खड्काले पार्टी महाधिवेशन प्रतिनिधिले प्रस्ताव गरेको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर बृहत् एकतामा जोड दिने बताएका थिए। संस्थापन समूहका नेता तथा खड्कानिकट केन्द्रीय सदस्य रामहरि खतिवडा जेन-जी आन्दोलनको बहानामा पार्टीलाई कमजोर बनाउने र नेतृत्वमा जसरी पनि पुग्ने खेल कांग्रेसमा चलिरहेको बताउँछन्। उनी सभापति देउवा मात्र असफल भएको हो कि उपसभापति, सहमहामन्त्री र महामन्त्रीलगायत केन्द्रीय नेताहरू पनि फेल भएको भन्दै प्रश्न गर्छन्। “राम्रै होला भनेर हस्ताक्षर संकलन भएको होला। तर, केन्द्रीय सभापति मात्र बदल्न हस्ताक्षर गरेको कि सबैलाई फेर्न? विशेष महाधिवेशन भनेर जेन-जीहरूलाई पार्टीमा आउन दिन्नँ भनेको हो? किन यसरी पार्टी विभाजन गर्न खोजेको?” खतिवडाको प्रश्न छ।
संस्थापनले पेले पुसमै विशेष महाधिवेशन
त्यसो त कांग्रेसमा विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिलाई गलाउने रणनीतिमा संस्थापन पक्ष सक्रिय छ। कांग्रेसको नियमित महाधिवेशन मंसिर अन्तिमभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। तर, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण सुरु भएकै छैन। १३ कात्तिकदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठकले मंसिर अन्तिमसम्म ६ हजार ७४३ वडा, ७५३ स्थानीय तह, सात प्रदेश तथा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउने सम्भावना क्षीण छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत। तस्बिर : बिक्रम राई/नेपालन्युज
संस्थापन पक्षले महाधिवेशन सार्ने आन्तरिक तयारी गरिरहँदा हस्ताक्षर संकलनमा जुटेको समूहले पनि नयाँ रणनीति तय गरेको छ। त्यस समूहले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका र काठमाडौँमा उपलब्ध महाधिवेशन प्रतिनिधिहरूको भेला बोलाउने तयारी गरेको छ। समूह १४ कात्तिकमा भेला बोलाउने र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिने तयारीमा छ।
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम भने फरक र जटिल परिस्थितिमा यो वा त्यो नभनी पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने तर्क गर्छिन्। पार्टीभित्र जसको जे रणनीति भए पनि मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने उनको मत छ। “५४ प्रतिशतभन्दा बढी हस्ताक्षर भएको विषयलाई नेतृत्वले खेलाँची नठानोस्। कुनै पनि बहानामा मंसिरको नियमित महाधिवेशन सार्ने प्रपञ्च भए पुसमै विशेष महाधिवेशनको कोर्समा अघि बढ्छ। त्यसैले सबै नियमित महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिले ल्याओस्,” उनी भन्छिन्।
शेखर पनि नियमित महाधिवेशनको पक्षमा
नेता डा. शेखर कोइराला पनि नियमित महाधिवेशनको पक्षमा छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सम्मान गर्दै नियमित महाधिवेशनमै जानुपर्ने राय कोइरालाको छ। कोइरालानिकट रञ्जित कर्णलगायतले पनि नियमित महाधिवेशन गर्न कांग्रेस केन्द्रीय कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका थिए। कोइरालानिकट केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल पनि नेता कोइराला र उनको समूह नियमित महाधिवेशनको पक्षमा उभिने बताउँछन्। यो वा त्यो नभनी १०-१५ दिन समय थपेर भए पनि नियमित महाधिवेशन गरिनुपर्ने पोखरेलको धारणा छ।
यता कोइरालाले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर नेतासँग संवाद गरेका छन्। निकट स्रोतका अनुसार उनले महामन्त्रीहरू तथा हस्ताक्षर अभियान चलाएका नेताहरू गुरु घिमिरे र देवराज चालिसेलाई बोलाएर संयमित भएर अघि बढ्न आग्रह गरेका छन्। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग नियमित महाधिवेशनतिर जानुपर्ने धारणा रोखका छन्।
कांग्रेसमा अहिले तीन थरी समूह सक्रिय भए पनि पार्टी विभाजन नहुने महामन्त्री विश्वप्रकाश शर्माले सोमबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग बताए। शर्माले भने, “विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप बालेको छ भने त्यस्तो बिल्कुलै नसोचे हुन्छ। कांग्रेस एकढिक्का रहन्छ र बदलिएको परिस्थितिबमोजिम आफूलाई बदल्छ।”