विराटनगर। सन् २०२१ पछि पहिलोपटक कोसी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार आज (शुक्रबार) बिहान ८:४५ बजे गरिएको वर्षा मापनमा विराटनगरमा ११८.६ मिलिमिटर पानी परेको छ। सोही समयमा धनकुटामा ५५, ओखलढुंगामा ७१, धरानमा ८८.२, ताप्लेजुङमा ५२.८, झापाको अनारमनीमा १४९.२, झापाकै शश्चिरेमा १४९.२ र दमकमा ५२.८ मिलिमिटर पानी परेको मौसमविद् बाबुराम मिश्रले जानकारी दिए।
उनले मोरङको सुन्दरहरैचामा चौबीस घण्टाको अवधिमा २४८ मिलिमिटर पानी परेर बताउँदै यो प्रदेशमा सबैभन्दा बढी पानी परेको तथ्यांक रहेको जनाए। उनले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले सो क्षेत्रका नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ बस्न र आवश्यक सचेतना अपनाउन आग्रह गरे।
सन् २०२१ को अक्टोबरमा विराटनगरमा ३२३ मिलिमिटर पानी परेको थियो। कार्यालयका अनुसार कोसी प्रदेशमा वर्षाको सम्भावना अझै टरेको छैन।