काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
अ+
अ-

सिरहा। सिरहाको लहान नगरपालिका ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आधुनिक सेवा विस्तार भए पनि जग्गा रजिस्ट्रेसन नहुँदा भौतिक संरचना निर्माणका काम रोकिएका छन्।

अस्पतालमा अहिले आधुनिक प्रयोगशाला, डायलाइसिस र विभिन्न विभागका चिकित्सकको सक्रियतामा दैनिक ३०० भन्दा बढी बिरामीको जाँच भइरहेको छ। १५ शय्याबाट एक सय शय्यामा विस्तार भएको अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा अवरोध भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले बताए। उनका अनुसार अस्पतालको जग्गा रजिस्ट्रेसनका लागि लाग्ने लाभकर मिनाहाका लागि संघीय सरकारको अर्थ मन्त्रालयमा सिफारिस गरिएको एक वर्ष नाघिसक्दा पनि निर्णय हुन सकेको छैन। “लाभकर मिनाहाको निर्णय नभएकै कारण रजिस्ट्रेसन गर्न सकिएको छैन‚” उनले भने।

२०३७ सालमा लहानका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा जग्गा दिएका थिए। दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका जग्गा अस्पतालकै नाममा रजिस्ट्रेसन गर्न तयार भए पनि त्यसका लागि एक करोड ३१ लाख ५५ हजार ८९६ रुपैयाँ लाभकर लाग्ने भएपछि मिनाहाका लागि पहल भइरहेको अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताले जानकारी दिए।

“यो लाभकर मिनाहा हुन सकेमा जग्गा अस्पतालकै नाममा दर्ता भई थप पूर्वाधार विकासको बाटो खुल्नेछ,” अध्यक्ष मेहताले भने, “हाल कर मिनाहा नभएकै कारण जीर्ण भवन मर्मत, चिकित्सक आवास, नयाँ भवन निर्माण र सिटी स्क्यान सञ्चालनजस्ता योजना अघि बढ्न सकेका छैनन्।” उनका अनुसार अस्पताल विकास समितिले प्रदेश, संघ र स्थानीय सरकारसँग निरन्तर समन्वय गरी रजिस्ट्रेसन प्रक्रिया छिटो टुङ्ग्याउने गृहकार्य अघि बढाइरहेको छ।

“लाभकर मिनाहाको निर्णय नभएकै कारण रजिस्ट्रेसन गर्न सकिएको छैन।”

सिरहा, सप्तरी र उदयपुरका बिरामीलाई सेवा दिइरहेको अस्पताल क्रमशः तीन जिल्लाको स्वास्थ्य सेवाको केन्द्र बन्दै गएको छ। बिरामीको चाप बढ्दै जाँदा अस्पतालको स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय बासिन्दाले सक्रियता देखाउन थालेका छन्। स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजले अस्पतालको जग्गा रजिस्ट्रेसन तत्काल गर्न माग गर्दै निरन्तर दबाब दिइरहेका छन्।

यसैबीच युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता गत मंगलबार गृहजिल्ला आउँदा अस्पताल प्रशासन र यहाँका जेनजी युवाहरूले संयुक्त रूपमा मन्त्रीलाई अस्पतालको जग्गा राजस्व कर मिनाहा गरी अस्पतालकै नाममा पास गर्न आवश्यक पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए।

अध्यक्ष मेहताका अनुसार मन्त्री गुप्ताले यस विषयमा साझा पहल आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रतिबद्धता व्यक्त जनाएका थिए।