टिप्पणी
वैचारिकभन्दा क्रियाशील नेताका रूपमा परिचित नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणपछि भने नेतृत्व छोड्नुपर्ने दबाबमा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले सकसपूर्ण अवस्थामा छन्। पछिल्लो समय अध्यक्ष नेपालको राजनीतिक शक्ति र सामाजिक पुँजी दुवै कमजोर भएका छन्।
नेपाल आफैँले संगठन बनाएको र लामो समय नेतृत्व गरेको नेकपा एमालेबाट २ भदौ २०७८ मा एकचौथाइ शक्ति लिएर विभाजित भएको १५ महिनापछिको आम निर्वाचनमा एकीकृत समाजवादी राष्ट्रिय दल पनि बन्न सकेन। प्रत्यक्षतर्फ १० स्थान जितेको एकीकृत समाजवादीले समानुपातिकमा तीन प्रतिशत मतसमेत कटाउन सकेन। चुनावमा एकीकृत समाजवादीको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन थियो। एकीकृत समाजवादीले चुनावमा एमालेलाई गम्भीर क्षति भने पुर्यायो। एमाले प्रतिनिधिसभामा कांग्रेसभन्दा १० स्थान मात्रै अन्तरले दोस्रो स्थानमा रह्यो। चुनावपछि वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित कतिपय नेताहरूले एकीकृत समाजवादी छाडेर एमालेमा फर्किए।
पछिल्लो समय पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सामाजिक पुँजीमा पनि ठूलै धक्का लाग्यो। लामो समय पार्टीको शीर्ष स्थानमा रहे पनि नेपाल आर्थिक रूपमा कुनै काण्डमा नमुछिएका नेता भनेर चिनिन्थे। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको पतञ्जलि जग्गा हिनामिनाको अनुसन्धानमा नेपालको नाम जोडियो। २२ जेठ २०८२ मा मा अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्यो। ११ असार २०८२ मा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी बुझाएर नेपाल रिहा भए। मुद्दा दायर भएपछि पार्टीभित्रैबाट अध्यक्ष पद छाड्न दबाब पर्दै आएको छ। नेपालले राजनीतिक पूर्वाग्रहको आधारमा आफूविरुद्ध मुद्दा दर्ता गरेको सफाइ दिँदै आएका छन्। मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णयमा अख्तियार प्रवेश गर्न नसक्ने भन्दै उनले तर्क गर्दै आएका छन्।
कमजोर राजनीतिक शक्ति र क्षय भएको सामाजिक पुँजी देशमा विकसित भएको नयाँ परिस्थितिमा नेपाल पुनर्जागृत हुन खोज्दै छन्। जसका लागि पहिलो चरणमा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने नेपालको तयारी छ। तर त्यस विषयमा एकीकृत समाजवादीमा एकमत छैन। नेपालपछि दोस्रो स्थानमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेबाट विद्रोह पुष्टि नेतृत्वले गर्न नसकेको अवस्थमा एकता गर्न नहुने तर्क छ।
“चार वर्षअघि एमालेबाट किन विद्रोह गरेको? उद्देश्य पूर्ति भयो कि भएन? पूर्ति भयो भने विद्रोह ठीक होला, नभएको भए हतारमा फेरि एकीकरण किन? विद्रोहलाई पुष्टि गर्ने काम हाम्रो नेतृत्वले गरेकै छैन। यसैले यो पुष्टि नहुँदै अर्कोतिर जाँदा प्रश्न उठ्छ,” खनालले भने, “विद्रोह किन गरियो र हामी कहाँ पुग्यौँ? यो केन्द्रीय कमिटीले यसको समाधान गर्नुपर्छ।”
जबकि अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्न आवश्यक भएर गरिएको दाबी गरेका छन्। ‘हामीले विद्रोह गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने अठोटसमेत गरेका थियौँ। यसो गर्नु पनि आवश्यक र औचित्यपूर्ण नै थियो। यो काम पूरा भएको छैन। यो तुरुन्तै पूरा भइहाल्ने काम पनि होइन। त्यसका लागि लामो समयसम्म कठोर मिहिनेत गर्नुपर्ने हुन्छ। हाम्रो प्रयास निरन्तर जारी छ,’ नेपालले जारी केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा भनिएको छ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पढिरहेका माधवकुमार नेपाल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
उनले एमालेले अँगालेकोभन्दा फरक क्रान्तिकारी रणनीति, कार्यक्रम र कार्यदिशा अँगाल्ने कार्यबाट पनि हाम्रो विद्रोह औचित्यपूर्ण थियो भन्ने पुष्टि भएको छ।
नेकपा एसका महासचिव घनश्याम भुसालले माओवादीसँग एकता हुनुअघि पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। उनले एकीकृत समजावादी अध्यक्ष नेपाल र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल पार्टीको सल्लाहकारको रूपमा रहनुपर्ने प्रस्ताव अघि सारेका छन्। तर दाहाल र नेपाल दुवै भुसालको प्रस्तावमा सहमत छैनन्। एकीकृत समाजवादी जस्तै माओवादीभित्र पनि एकताको विषयमा मतैक्य छैन। माओवादीको दोस्रो वरीयतामा रहेका नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा विभाजित रूपमा एकीकृत समाजवादीलाई ल्याउन नहुने पक्षमा छन्। भुसालले पहिले पुनर्गठन र त्यसपछि मात्रै एकता हुने बताएका छन्। जबकि दाहाल र नेपालले पहिले एकीकरण त्यसपछि पुनर्गठनको पक्षमा रहेका छन्।
माधवकुमार नेपाल ५० वर्षअघि नेपाल बैंकको जागिर छाडेर भूमिगत राजनीतिमा लागेका थिए। २४ र २५ जेठ २०३२ मा गठन गरेको ‘नेपाल क्रान्तिकारी को-अर्डिनेसन केन्द्र (कोके) मार्क्सवादी लेनिनवादी’ को संस्थापकमध्ये नेपाल एक हुन्। जुन पछि विभिन्न समूहमा जोडिँदै ११ पुस २०३४ मा नेकपा माले बन्यो। विभिन्न समूहहरू जोडिँदा पनि नेपाल २०४६ भएको एमालेको चौथो महाधिवेशनमा नहुँदासम्म दोस्रो नेताका रूपमा रहेका थिए। मदन भण्डारी महासचिव भएपछि नेपालको स्थान जीवराज आश्रितले लिएका थिए।
३ जेठ २०५० मा चितवनको दासढुंगामा भएको दुर्घटनामा भण्डारी र आश्रित दुवैको मृत्यु भएपछि नेपाल एमाले महासचिव बने। तत्कालीन भूमिगत माले र खुला राजनीतिमा आएपछि एमालेको संगठनात्मक संरचना निर्माणमा नेपालको भूमिका प्रमुख रहेको थियो। नेपालले एमाले करिब डेढ दशकसम्म निरन्तर नेतृत्वमा रहे। नेपाललाई वैचारिकभन्दा पनि निरन्तर रूपमा क्रियाशील हुने नेताको रूपमा लिने गरिन्छ। विश्वभर कम्युनिस्ट राजनीतिले धक्का खाएको समयमा संसदीय राजनीतिमा एमालेलाई सशक्त रूपमा अघि बढाएका नेपाल आर्थिक रूपमा बदनाम नभएको पात्रको रूपमा रहेका थिए।
२०६४ सालको भएको संविधानसभाको पहिलो निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएपछि नैतिकताको आधारमा नेपालले महासचिव छाडे। नेपाल आफैँ काठमाडौँ र रौतहटका दुईवटा निर्वाचन क्षेत्रबाट पराजित भएका थिए। तर उनी लामो समय सक्रिय राजनीतिबाट बाहिर रहेनन्। सरकारबाट मनोनीत सदस्यको रूपमा पहिलो प्रतिनिधिसभा सदस्य बनेका नेपाल ११ जेठ २०६६ सालमा प्रधानमन्त्री बने। १८ महिना चलेको उनको शासनकाल त्यस समयमा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल माओवादी र त्यसका अध्यक्ष दाहालसँगको टकवारमा बित्यो। पार्टीभित्र तत्कालीन अध्यक्ष झलनाथ खनालविरुद्ध उनको केपी शर्मा ओलीसँग सहकार्य रह्यो। तर नवौँ महाधिवेशनमा ओली र नेपालबीच अध्यक्षमा प्रतिस्पर्धा थियो।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बन्नेपछि नेपाल र दाहालबीच सहकार्य सुरु भएको थियो। जुन नेकपा हुँदै एमालेको विभाजनपछि सम्म पनि रह्यो। पछिल्लो समयमा नेपाल र दाहाल एकता गरेर एउटै दल बनाउन लागेका छन्।