काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

चितवन। व्यवसायी रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई गएराति मुग्लिनबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १० का २४ वर्षीय राजबहादुर कार्की, सोही स्थानका २४ वर्षीय प्रकाश तामाङ र वडा नम्बर १३ का २१ वर्षीय सनम सुनार छन् ।

भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर शैलुनका सञ्चालक सिग्देललाई अपरिचित समूहले बिहीबार अपराह्न आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्यान्डमार्कको पार्किङमा तीन जनाको समूहमा आएकाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

सीसीटीभी फुटेजमा उनीहरू सिजी ल्यान्डमार्कको प्रवेशद्वारमा कुरेर बसेका र सिग्देललाई त्यहाँ देख्नासाथ मोटरसाइकलको हेलमेट प्रयोग गरेर आक्रमण गरेका अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । आक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ ।

खनालले भरतपुर अस्पतालमा उपचार भइरहेको जनाउँदै यसअघि पनि सिग्देलमाथि सोही ठाउँमा आक्रमण भएको जानकारी दिए। पक्राउ परेकाहरूसँग घटनाबारे सोधपुछ भइरहेको जनाउँदै यसबारे थप अनुसन्धान जारी रहेको खनालले बताए।