काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

विशेष महाधिवेशन पक्षधरलाई पूर्णबहादुर खड्काको आश्वासन

१५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन्।

छलफलमा सहभागी नेता मनोजमणि आचार्यका अनुसार शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात नेतासँग दुई घण्टा बढी छलफल भएको हो। उनका अनुसार छलफलमा कार्यवाहक सभापति खड्काले हस्ताक्षर अभियानबारे आफूले केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकमा जानकारी गराएको भन्दै विधानसम्मत महाधिवेशनमा जाने आश्वासन दिएका थिए।

“५४ प्रतिशत साथीहरूको हस्ताक्षर बुझाएपछि पहिलोपटक उहाँले बोलाउनुभयो। हामीले हस्ताक्षर संकलन गर्नुको कारणबारे स्पष्ट जानकारी गरायौं‚” आचार्यले भने‚ “उहाँले पनि गम्भीर रूपमा लिएको छु विधानसम्मत अघि बढ्छु भन्नुभयो।”

पार्टी कार्यालयमा भएको छलफलमा २३ र २४ भदौको घटनापछि परिवर्तन भएको परिस्थितिमा नीति नेतृत्व र विधानलगायत विषयमा अघि बढ्न तत्काल महाधिवेशन आवश्यक भएको हस्ताक्षरकर्ताहरूले बताएका थिए। जसमा खड्काले आफू किसुनजीको अनुयायी भएको भन्दै भनेका थिए‚ “पार्टीको विधानको व्यवस्थामा रहेर म काम गर्छु। म किसुनजीको अनुयायी पनि हुँ।”

छलफलमा हस्ताक्षर अभियान चलाइरहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, रमेश धमला, नारायण भट्टराई, जनकराज गिरी, सुवास पोखरेल, मनोजमणि आचार्य सहभागी थिए।