काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ कार्तिक २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा छापा मारेको छ।

मध्य भोटेकोसी आयोजनासँग सामाजिक उत्तरदायित्वका नाममा पाँच करोड रुपैयाँ असुल गरेको उजुरी परेपछि अख्तियारले छापा मारेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए। मेयर बालकृष्ण बस्नेतसहितका व्यक्तिमाथि उजुरी परेपछि छापा मारेर कागजात जफत गरिएको पौडेलले बताए। अख्तियार मुख्यालय टंगालबाट खटिएको टोली आइतबार बाह्रबिसे नगरपालिका पुगेको थियो।

अख्तियार स्रोतका अनुसार पूर्वऊर्जामन्त्री दीपक खड्का, राज्यमन्त्री कान्छाराम तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्धसमेत उजुरी परेको थियो। बाह्रबिसे नगर अस्पताल स्तरोन्नति गर्ने बहानामा आयोजनासँग मोटो रकम माग गरेको आरोप मेयर बस्नेतलाई लागेको छ।

उनीसहित पूर्वमन्त्री मोहनबहादुरको अगुवाइमा मध्यभोटेकोसी आयोजनाको ट्रान्समिसन लाइन विस्तारमा अवरोध गरेको र त्यही अवरोध खुलाउने बहानामा आयोजनासँग रकम माग गरिएको उजुरी परेको थियो।

मेयर बस्नेतसहितका व्यक्तिले आयोजनासँग ११ करोड रुपैयाँ माग गरेका थिए। त्यसमध्ये पाँच करोड रुपैयाँ आयोजनाले भदौ २०८१ मा भुक्तानी गरेको थियो।