काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका व्यक्ति प्रहरीबाट लुटिएको हतियारसहित पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा महाभारत गाउँपालिका १, काभ्रे घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ बस्दै आएका २२ वर्षीय वाङ्सु लामा छन्। उनलाई गोकर्णेश्वरस्थित बस्दै आएको ठाउँबाट शुक्रबार बेलुका पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए। उनको साथबाट प्रहरीले ग्यास गन र तीन थान गोली पनि बरामद गरिएको श्रेष्ठले बताए।

१३ कात्तिकको साँझ काठमाडौं महानगरपालिका ७, लाहुरे टोलको एउटा खाजाघरमा झोला फेला परेको थियो। उक्त खाजाघर भरत विश्वकर्माले सञ्चालन गर्दै आएका थिए। झोलाबाट प्रहरीले ग्यास गन फेला पारेको थियो।
उक्त घटना अनुसन्धान गर्दै जाँदा प्रहरी लामाको डेरासम्म पुगेको थियो। “उहाँको डेरामा प्रहरीले तीनथान गोली फेला पार्‍यो,” श्रेष्ठले भने।

लामालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। लामा ज्यान मार्ने उद्योगमा सुन्धारा कारागारमा थिए। ७ साउन २०८२ मा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए। वृत्त बौद्धबाट अनुसन्धान भई ज्यान मार्ने उद्योगको मुद्दामा कारागार रहेकामा उनी जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा कारागारबाट फारार भएका थिए।

उक्त हतियार उनले कुन प्रहरी कार्यालयबाट लुटेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। “यो हतियार प्रहरी कार्यालयबाटै लुटिएको हो भन्ने यकिन भइसकेको छ,” श्रेष्ठले भने।