काठमाडौँ। प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृहमन्त्रीस्तरको आज (सोमबार) को निर्णयअनुसार प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे। दर्ज्यानी चिह्न पाउनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले छन्।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी महानिरीक्षक खापुङले बढुवा भएका पाँचै जनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। साथै उनले आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र संगठनप्रति पुर्याएको योगदानको मूल्यांकनका आधारमा पदोन्नति भएको चर्चा गरे। उनले परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिह्नबाट सुशोभित प्रहरी अधिकृतहरूलाई निर्देशन पनि दिए।
यो पनि पढ्नुहोस्…
बढुवा भएका डीआईजीको पदस्थापन- सीआईबीमा खत्री, अख्तियारमा खनाल [अरु कहाँ?]
खापुङले अहिलेको संवेदनशील घडीमा प्रहरी कमान्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गरे। उनले विगतमा भएका घटनाको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताए। आगामी दिनमा देखापर्न सक्ने चुनौतीलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्नसमेत उनले उपस्थित प्रहरी कर्मचारीलाई निर्देश गरे।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूका तर्फबाट प्रतिबद्धता जनाउँदै प्रहरी नायब महानिरीक्षक खत्रीले सांगठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी संगठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने बताए। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो।
हेर्नुहोस् थप तस्बिर :
