काठमाडौं। एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ फुटबल क्लबले सानदार विजयी सुरुआत गरेको छ।
गौरीटार रंगशालामा बुधबार भएको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै तीन अंक आफ्नो खातामा जोडेको हो।
चित्लाङको जितमा चन्दनकुमार दास, लाहन सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तानले गोल गरे। देउरालीका तर्फबाट रामचन्द्र बाजीले एकमात्र गोल फर्काए।

खेलको ३२औं मिनेटमा चन्दनले गोल गर्दै चित्लाङलाई सुरुआती अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा लाहन र विज्ञानले लगातार गोल गर्दै पहिलो हाफमै टोलीलाई ३-० को सहज स्थितिमा पुर्याए।
दोस्रो हाफमा दुवै टोलीले एक-एक गोल थपे। खेलको ८८औं मिनेटमा मदनले गोल गर्दै चित्लाङको अग्रता ४-० मा पुर्याए भने इन्जुरी समयको तेस्रो मिनेटमा रामचन्द्रले देउरालीका लागि सान्त्वना गोल गरे।
त्यसपछि थप गोल नहुँदा खेल ४-१ को जितसहित चित्लाङ प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न सफल भयो।
