कास्की। पोखरा महानगरपालिकाका १८‚ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले माग गरेको छ।
पोखरामा आज (आइतबार) पत्रकार सम्मेलन गरी महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदलमार्ग र साइकल लेनसहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो। महानगरपालिकाले फिर्केखोला खोलाघरका अतिक्रमित संरचना हटाउने कार्य स्थगन गरेकामा महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ।
महाअभियानका संयोजक रामबहादुर पौडेलले फिर्केखोलामा अतिक्रमण हटाउन महानगरपालिकाले लिएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा महानगरपालिका र सम्बन्धित वडाको कमजोरी रहेको बताए। बढ्दो अतिक्रमण, प्रदूषण, फोहोरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरुप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ। जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि फिर्केखोलालाई प्राकृतिक रूपमै बग्न दिनुपर्नेमा जोड दिइएको छ।
पोखरा १८‚ अँधेरीकुनाबाट वडा २, ४, ५, ८, ७, १७ र ६ हुँदै फिर्केखोला फेवातालमा मिसिन्छ। महाअभियानले वडा ४, ५, ८ र ७ स्थित फिर्केखोला खोलाघरमा विभिन्न संरचना हटाउन बाँकी रहेकाले तिनलाई पूर्ण रूपमा हटाउन महानगरपालिकासँग माग गरेको छ। -रासस