काठमाडौँ। विशेष अदालतले सशस्त्र प्रहरी स्कुल कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज (आइतबार) यस्तो आदेश दिएको हो। आदेशबमोजिम उनीहरूलाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतले जनाएको छ।
एपीएफ स्कुलको आर्थिक अपचलनसम्बन्धी विषयको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी निरीक्षक गुरुङ र व्यवसायी लामालाई गत २० असारमा प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको पत्रअनुसार भ्रष्टाचार निवारण ऐन-२०५९ को दफा ७ र १७ ले निषेध गरेको भ्रष्टाचारको कसुर अपराधको अनुसन्धान गर्न यही ८ साउनमा आरोपीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो।