१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा २४ भदौमा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट लुटिएको एकथान हतियार र गोली फेला परेको छ।

प्रहरीले बुधबार अपराह्न बिर्तामोड नगरपालिका ६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिकैको झाडीबाट बेवारिसे अवस्थामा हतियार तथा गोली फेला पारेको हो।

झाडीमा इन्सास राइफल एकथान, म्यागजिन एकथान र गोली १९ थान फेला परेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

“उक्त हतियार २४ गते जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको थियो,” खड्काले भने। उक्त हतियार बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। हतियार कसले लुटेर त्यहाँ फाल्यो भन्नेबारे अनुसन्धान थालिएको खड्काको भनाइ छ।