केपी ओली भन्छन्- राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेर गल्ती गर्नुभयो
काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले भक्तपुरको गुन्डुमा बिहीबार आफ्ना नेता-कार्यकर्तासँग यस्तो बताएका हुन्। ओलीले देशलाई छाडातन्त्रमा चलाउन कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर पनि गरे।
देशलाई छाडातन्त्रमा चलाउन हैसियत नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गर्यो : अध्यक्ष ओली
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको पनि ओलीको भनाइ छ।
“संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नुभएको छ। गर्नु हुँदैन थियो। त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुन:स्थापनाको माग गर्दछौं। त्यसका लागि आन्दोलन गर्दछौँ। र अगाडि बढछौं,” ओलीले भने।
देशलाई छाडातन्त्रमा चलाउन हैसियत नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको अध्यक्ष ओलीको आरोप छ। “यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो? भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। यो असंवैधानिक ढंगले भंग गरेको छ। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेको छ,” ओलीले भने।