काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

कोसी प्रदेशसभा

नयाँ सत्ता समीकरणमा कोसी प्रदेशको नेतृत्व एमालेले पाउने भएपछि ओलीबाट मेन्याङ्बोलाई तयारीको संकेत, कार्की भने निरन्तरतामा ढुक्क

१० श्रावण २०८३
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मुख्यमन्त्रीका सम्भावित दाबेदार एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो।
अ+
अ-

विराटनगर। नेकपा (एमाले)ले नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएपछि कोसीमा सातौँ सरकार गठनको कसरत सुरु भएको छ।

केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको नयाँ सहमतिअनुसार कोसी प्रदेशको नेतृत्व एमालेकै भागमा परेको छ। तर, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरन्तरता पाउने वा नयाँ पात्रले अवसर पाउने भन्नेमा पार्टीभित्र मतभेद देखिएको छ।

मुख्यमन्त्री कार्की आफ्नै नेतृत्वले निरन्तरता पाउनेमा ढुक्क छन्। तर, यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ अनुहारका रूपमा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने संकेत गरेका छन्।

एमाले नेताहरूका अनुसार अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको विकल्पमा ताप्लेजुङका मेन्याङ्बोलाई अघि सारेको हुन्। ९ साउन (शनिबार) गुन्डु निवासमा मेन्याङ्बोलाई बोलाएर ओलीले तयारी थाल्न निर्देशन दिएको उनीहरूको दाबी छ। पार्टी महासचिव शंकर पोखरेल भने कार्कीलाई नै दोहोर्‍याउनुपर्ने पक्षमा छन्।

झापाको एउटै निर्वाचन क्षेत्रका कार्की र अध्यक्ष ओलीबीच कुनै समय निकट सम्बन्ध थियो। ओलीकै विश्वासपात्र भएकाले कार्कीले पार्टीको स्थायी कमिटी सदस्य, सचिव र तीन पटक मुख्यमन्त्री बन्ने अवसर पाएका थिए।

तर, पछिल्लो समय पार्टीको आन्तरिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसमा कार्कीले महासचिव पोखरेलको पक्ष लिएपछि ओलीसँग उनको दूरी बढेको नेताहरू बताउँछन्।

पार्टी महाधिवेशनपछि कार्की स्वयं कोसी प्रदेश इन्चार्ज र उनका दाजु दीपक कार्की झापा जिल्ला इन्चार्ज बन्न चाहन्थे। तर, ओलीले ती पदमा क्रमशः शेरधन राई र रोमनाथ ओलीलाई जिम्मेवारी दिएपछि सम्बन्धमा चिसोपन आएको बताइन्छ।

कोसी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्ष पुग्दा सत्ता समीकरण परिवर्तन तथा मन्त्रिपरिषद् विस्तार र पुनर्गठनको शृंखला रोकिएको छैन। ९२ सदस्यीय प्रदेशसभामा यस अवधिमा ६ पटक सरकार गठन भएको छ भने मन्त्रिपरिषद् विस्तार र पुनर्गठन १८ पटक भएको छ।

ओलीले मेन्याङ्बोलाई तयारी थाल्न निर्देशन दिएपछि कार्कीको निरन्तरताबारे अनिश्चितता बढेको छ। मेन्याङ्बो नेतृत्वसँगको छलफल सकारात्मक रहेको र केही दिनभित्र निर्णय हुने बताउँछन्। “अध्यक्षज्यूसँग छलफल भएको छ,” मेन्याङ्बो भन्छन्, “मैले सकारात्मक प्रतिक्रिया पाएको छु। केही दिनभित्रै टुंगो लाग्छ।”

कार्की भने आफ्नै नेतृत्व कायम हुनेमा ढुक्क रहेको बताउँछन्। “कोसीमा एमाले र नेकपा मिलेर जाने कुरा भएको छ। कोसीको नेतृत्वमा म छँदै छु, ढुक्कै भइहाल्यो,” उनी भन्छन्, “केही परिवर्तन गर्नुपर्ने विषय आयो भने पार्टी बैठक बस्नुपर्‍यो।” पार्टीले विधि र प्रक्रियाबाट निर्णय गरे पद हस्तान्तरण गर्न तयार रहेको उनको भनाइ छ। पार्टी बैठक बसेपछि सबै विषय टुंगो लाग्ने उनी बताउँछन्। केही दिन काठमाडौँमा रहेका उनी शनिबार बेलुका विराटनगर फर्किएका थिए।

चार वर्षमा ६ सरकार, १८ पटक हेरफेर

कोसी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्ष पुग्दा सत्ता समीकरण परिवर्तन तथा मन्त्रिपरिषद् विस्तार र पुनर्गठनको शृंखला रोकिएको छैन। ९२ सदस्यीय प्रदेशसभामा यस अवधिमा ६ पटक सरकार गठन भएको छ भने मन्त्रिपरिषद् विस्तार र पुनर्गठन १८ पटक भएको छ।

२०७९ पुस २५ मा पहिलो सरकार गठन भएदेखि २०८२ पुस २२ मा भएको पछिल्लो मन्त्रिपरिषद् हेरफेरसम्म प्रदेशसभाका ४४ सदस्यले मन्त्री बन्ने अवसर पाइसकेका छन्। तीमध्ये कतिपय पटक पटक मन्त्री बनेका छन्। अब बन्ने नयाँ सरकार यसै कार्यकालको सातौँ हुनेछ भने मन्त्रिपरिषद् गठन, विस्तार र पुनर्गठन १९ पटक हुनेछ।

कोसी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता गठन भएका सरकार र मन्त्रीहरूको विवरण।

हिक्मतकुमार कार्की एकै कार्यकालमा तीन पटक मुख्यमन्त्री नियुक्त भएका छन्। उनी २०७९ पुस २४, २०८० भदौ २२ र २०८१ वैशाख २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री बने पनि दुवै पटक सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरेको थियो। उनी २०८० असार २२ र साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

कांग्रेसकै विद्रोही नेता केदार कार्कीले करिब सात महिना सरकारको नेतृत्व गरे। उनी २०८० असोज २८ देखि २०८१ वैशाख २६ सम्म मुख्यमन्त्री थिए।

तिलकुमार मेन्याङ्बो, निर्मला लिम्बू, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीसहित १३ सांसदले दुई दुई पटक मन्त्रीको शपथ लिएका छन्। यस अवधिमा मन्त्री र राज्यमन्त्री गरी कुल ५९ पटक नियुक्ति भएको छ।

सत्ता समीकरण जोगाउन मन्त्री पद बाँडिँदा छोटो अवधिमै ४४ सांसद मन्त्री बनेका छन्। मन्त्रिपरिषद्‌मा एउटै अनुहार दोहोरिने र तेहेरिने क्रम पनि जारी छ। कांग्रेसका प्रदीपकुमार सुनुवार सबैभन्दा धेरै चार पटक मन्त्री बनेका छन्। कमलप्रसाद जबेगू र राजेन्द्र कार्की तीन–तीन पटक मन्त्री बनेका छन्।

तिलकुमार मेन्याङ्बो, निर्मला लिम्बू, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीसहित १३ सांसदले दुई दुई पटक मन्त्रीको शपथ लिएका छन्। यस अवधिमा मन्त्री र राज्यमन्त्री गरी कुल ५९ पटक नियुक्ति भएको छ।

प्रदेशसभाको पहिलो कार्यकालमा शेरधन राईले २०७४ फागुन २, भीमप्रसाद आचार्यले २०७८ भदौ ११ र राजेन्द्रकुमार राईले २०७८ कात्तिक १६ देखि सरकारको नेतृत्व सम्हालेका थिए।

पटक पटकको सत्ता परिवर्तनले प्रदेश सरकारको स्थिरताबारे प्रश्न उठाएको छ। कांग्रेस कोसीका सभापति तथा संसदीय दलका नेता उद्धव थापा भन्छन्, “पटक पटकको समीकरण परिवर्तनले संघीयताविरोधीहरूलाई बल पुगेको छ। यसले जनतामा नकारात्मक सन्देश दिएको छ।”