काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका छन्।
काठमाडौंमा आइतबार राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकमा उनले जेनजी आन्दोलनका नाममा असंवैधानिक तवरले सरकार गठनका साथै प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताए। उनले देश जलाउनेहरू नै अहिले देश चलाउन आएको जिकिर गरे।
अहिलेको परिस्थिति राष्ट्रका लागि अनिष्ट परिस्थिति भएको भन्दै उनले यो परिस्थितिलाई लामो समय जान दिनु नहुने धारणा राखे। अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता अतंकित भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताए।
यो पनि…
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन केपी ओलीको आग्रह
जेनजी आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको ओलीको दाबी छ। अपराधमा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दासमेत सरकारले छाड्ने आदेश दिएको उनको आरोप छ।
उनले एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने स्पष्ट पारे। एमालेले अब आन्दोलनका लागि प्रशासनसँग कुनै अनुमति नलिने अध्यक्ष ओलीले बताए।