काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई ३३औं प्रहरी महानिरीक्षक नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए।

२७ कात्तिकमा हालका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ अवकाशमा जानुअघि सरकारले कार्कीलाई आईजीपी नियुक्त गरेको हो। कार्की चारजना प्रतिस्पर्धी एआईजीमध्ये पहिलो वरीयतामा थिए।

कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। आईजीपी प्रतिस्पर्धामा एआईजीहरू राजन अधिकारी, मनोजकुमार केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए।

कार्की १५ साउन २०२९ सालमा गुल्मीमा जन्मिएका हुन्। कार्कीले मानविकी तथा समाजशास्त्रमा स्नातक, शिक्षा शास्त्रमा स्नातक, कानुन संकायमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

कार्की १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा नियुक्त भएका थिए। उनी २६ मंसिर २०६६ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) भएका थिए।

कार्की १९ साउन २०७४ मा प्रहरी उपरीक्षक (एसपी) भएका थिए। ३ साउन २०७९ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बनेका कार्की १३ जेठ २०८१ मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका थिए।

बुबा कृष्णबहादुर र आमा चन्द्रकुमारीका छोरा कार्की ११ वैशाख २०८२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएका थिए। कार्की डीआईजी हुँदा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय प्रहरी प्रवक्ताका रूपमा कार्यरत थिए। एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेका थिए।

उनले इमानदार प्रहरी अधिकृतको छवि बनाएका छन्। प्रहरी निरीक्षकमा भर्ना भएयता कार्कीले दुई दर्जनभन्दा बढी कार्यालयमा काम गरेको अनुभव हासिल गरेका छन्।

प्रहरी सेवामा रहँदा कार्की करिब पाँच वर्ष संयुक्त राष्ट्रसंघको यूएन मिसनमा खटिएका थिए। विद्यमान ३० वर्षे सेवा अवधि कायम रहे कार्की दुई वर्ष ६ महिना नेतृत्वमा रहेर अवकाशमा जानेछन्।