काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न सहमत भएको छ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, लिग खेल्ने पाँच क्लब र नेपाल खेलाडी संघसँग मंगलबार भएको छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उक्त प्रतिबद्धता जनाएका हुन्। गत १७ कात्तिकमा एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीचको बैठकले ३ पुस २०८३ देखि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो। बरु त्यसको सट्टा आगामी ९ पुसबाट राष्ट्रिय लिग आयोजना गर्ने सहमति भएको थियो। त्यसअनुसार चार वर्षपछि मात्र शीर्ष लिग सुरु हुने सम्भावना देखिएपछि खेलाडीहरू आन्दोलित बनेका थिए।
उक्त कुरा नियालिरहेका मन्त्री गुप्ताले मंगलबार तीनै पक्षलाई वार्तामा बोलाएका थिए। मन्त्री गुप्ताले एन्फा अभिभावकीय संघ भएको कारण मिति दिनुपर्ने जिकिर गरेका थिए।
“अहिले एन्फाले यो मितिमा ए डिभिजन लिगको गराउन सक्छौं भन्दिनुस्। म त्यही मितिमा लिग गर्न क्बलसँग प्रस्ताव गर्छु। यसका लागि छुट्टै क्लबसँग भोलि बैठक पनि बस्छु,” उनले भनेका थिए। मन्त्री चर्किएपछि अध्यक्ष नेम्वाङ र महासचिव राई हच्किएका हुन्। त्यसपछि माघमा लिग गराउन सकिने बताएका थिए।
योसँगै राष्ट्रिय लिग ‘होल्ड’ हुने भएको छ। राष्ट्रिय लिगमा साबिक विजेता चर्च ब्वाइज युनाइटेड, उपविजेता मच्छिन्द्र फुटबल क्लबसँगै नेपाल पुलिस, जावलाखेल युथ क्लब, सातदवबाटो युथ क्लब र न्युरोड टिमसहित हेटौंडमा जारी एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार क्लबले सहभागिता जनाउने पक्का भएको थियो। तर, क्लब ‘ए’ डिभिजन लिग खेल्न सहमत भएसँगै महासचिव राईले राष्ट्रिय लिग ‘होल्ड’ गराउने निर्णय सुनाएका हुन्।
“क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ए डिभिजन गराउँछौं,” राईले भने। पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन। यसपल्ट भने मन्त्रीसमक्ष नै एन्फाले लिग गराउने वचन दिएको हो। यो लिग ‘डबल राउन्ड रोबिन’ मा हुने एन्फाले जनाएको छ।