दानदातव्य कोषमा योगदान तथा कोष परिचालनसम्बन्धी सम्झौता
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउने एक विद्यार्थीलाई ‘डा. केशवप्रसाद उपाध्याय स्मृति स्वर्ण पदक’ र प्रमाणपत्र दिइने भएको छ।
यसका लागि विश्वविद्यालयले ‘डा. केशवप्रसाद उपाध्याय स्मृति कोष’ का नाममा अक्षयकोष सञ्चालन गर्ने भएको छ। जसअनुसार त्रिभुवन विश्वविद्यालय र दानदातव्यकर्ता चाबहिलका प्रणयकुमार उपाध्यायबीच सम्झौता भएको छ।
सम्झौताअनुसार दानदातव्य कोष स्थापनाका लागि प्रणयकुमारले विश्वविद्यालयलाई १० लाख एक हजार रुपैयाँ प्रदान गरेका छन्। यो रकम ‘त्रिभुवन विश्वविद्यालय दानदातव्य कोष सञ्चालनसम्बन्धी विनियम-२०७९’ को अधीनमा रही परिचालन र व्यवस्थापन गर्ने विश्वविद्यालयले जनाएको छ।
सम्झौताअनुसार विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने नेपाली विषयको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण एक विद्यार्थीलाई ‘डा. केशवप्रसाद उपाध्याय स्मृति स्वर्ण पदक’ तथा प्रमाणपत्र प्रदान गरिनेछ।