काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

त्यो पिकनिकपछि ऊ किन मलाई आफ्नो प्रेमीझैँ लाग्यो? दिनहुँ आउने उसका मेसेज किन प्रेमका सन्देश लागे?

२९ कार्तिक २०८२
अ+
अ-

रातभर पानी पर्‍यो। महिनौँ थन्किएको सिरकले साथ दियो।

मध्यरातको झरीले कफीको तलतल लगायो। एक कप ब्ल्याक कफी बनाएँ। मानव कौलको पतझड उपन्यासका केही पाना पढेँ। किताबको पात्र आफैँलाई बिर्सन कोपनहेगनमा रुमलिएको छ।

उसको रुमल्याइ लोभलाग्दो छ। ऊ बियर पिउँछ। ऊसँग आरिस लागिदिन्छ। म चाहेर पनि कोठामा बियरका बोतल ल्याउन सक्दिनँ। बियरको साटो कफी पिइदिन्छु। तर, मात्तिन मलाई मन नलागेको होइन। किताबको मातसँगै मस्त निदाउँछु।

महिना दिनअघि उसको बिहे हुँदै छ भन्ने खबर पाएकी थिएँ। किन किन उसको बिहे हुँदै छ भन्ने थाहा पाएको दिन खुसी हुन सकिनँ। मनमा कताकता चसक्क भयो। आँखाबाट आँसुझैँ केही बग्यो।

बिहान उठ्दा झरी उस्तै छ। दर्के झरी। झरीले निथ्रुक्क भएको बिहानलाई एकसरो नियालेपछि एक कप कफी पिउँछु। उही ब्ल्याक कफीको घुट्को। उही किताबको यात्रा।

किताबको पात्र श्रीमतीले एकाएक छोडेकामा विक्षिप्त छ। मन बहलाउन कोपनहेगन पुगेको छ।

मन त मेरो पनि उसको जस्तै बिथोलिएको छ। तर, कोपनहेगन जानसक्ने हैसियत छैन। दु:खी हुन सजिलो छ, झरीले साथ जो दिएको छ। झरीसँगै रोइदिन सक्छु।

अबको पालि कफी छाडेर चिया बनाएँ। चियाले शान्ति दिएको महसुस भयो। कफीझैँ चाहेको बेला छोड्न र फेरि सुरु गर्न चियासँग सक्दिनँ। चिया मेरो पहिलो प्रेमी हो। उसलाई सधैँ प्रेम गरिरहन सक्छु।

वर्षौंपछि ऋषभको फोन आयो। मलाई लागेको थिएन, यत्तिका समयपछि कोही अन्जानले झैँ उसको फोनले मेरो ठेगाना खोज्नेछ।

महिना दिनअघि उसको बिहे हुँदै छ भन्ने खबर पाएकी थिएँ। किन किन उसको बिहे हुँदै छ भन्ने थाहा पाएको दिन खुसी हुन सकिनँ। मनमा कताकता चसक्क भयो। आँखाबाट आँसुझैँ केही बग्यो।

एक मनले भनेको थियो, हाम्रो सम्बन्ध साथीबाट सुरु भएर साथीमै अन्त्य भएको त हो। साथीभन्दा माथि त सम्बन्ध कहिल्यै उठेन। उसले साथी सम्झेर बिहेमा बोलाउनेछ भन्ने लाग्यो। तर, उसले बोलाए पनि बिहेमा जान सक्दिनथेँ। उसको निमन्त्रणालाई मेरो मनले सजिलै स्विकार्न सक्दैन, यो सत्य हो। तर, मनले कताकता उसको निम्तो मागेको थियो। गहिरो अपेक्षा गरेको थियो। निम्तो आएन, गुनासो छ र सधैँ रहिरहनेछ। एक मनमा बिझाइरहनेछ।

पहिलोपटक उसलाई मैले टीयूको घडीभवनअगाडि देखेकी थिएँ। किन हो थाहा छैन, तर पहिलोचोटि देख्दा नै ऊ याद थियो।

केही पछि ऊ क्लासमेट रहेछ भन्ने थाहा भयो। कक्षामा ऊ बायाँपट्टिको लाइनमा बस्थ्यो, म दायाँतिर। कहिलेकाहीँ आँखा पनि जुध्थे। एक सेमेस्टर त्यसरी नै सिद्धियो।

अर्को सेमेस्टरको पिकनिकपछि भने हामी साथीजस्ता भयौँ। त्यसबेला पिकनिकका लागि नगरकोट गएका थियौँ। पिकनिक जाने मेरो मुड थिएन, उसकै कारण गएकी थिएँ। पुसको चिसो दिन थियो। खोइ किन, त्यो चिसो दिन पनि मलाई तातो लाग्यो।

हाम्रो सम्बन्ध साथीको जस्तो मात्र कहिल्यै थिएन। मेरो मनले सधैँ उसलाई साथीभन्दा बढी सोच्यो। कहिलेकाहीँ उसले ‘केही कुरा भन्छु, नरिसाऊ है’ भन्थ्यो, मुटुको ढुकढुकी बढ्थ्यो।

पिकनिकपछि हामी नजिकिँदै गयौँ। यस्तो निकटता, जसलाई साथी मात्र भनेर भन्न गाह्रो थियो। नाटक हेर्न, किताब मेलामा सँगै गएका ती दिनहरू आज पनि सम्झन्छु।

त्यो पिकनिकपछि ऊ किन सधैँ मलाई प्रेमीझैँ लाग्यो? दिनदिनै आउने उसका मेसेज किन प्रेमका सन्देश लागे? तर, सत्य यही हो, उसले मलाई प्रेम गर्छु कहिल्यै भनेन। मैले बरु दुईपटक आफ्नो भावना व्यक्त गरेँ।

पहिलोपटक भनेकी थिएँ, ‘ऋषभ, आई थिंक आई एम इन लभ विथ यु, आई कान्ट थिंक यु वन्ली फ्रेन्ड।’ यति पनि डराईडराई, काँपेको स्वरमा भनेकी थिएँ। भनूँ कि नभनूँको दोसाँधमा साहस गरेर भनेकी थिएँ।

तर, उसले साथीभन्दा बढी कहिल्यै सोच्न नसक्ने बताएको थियो। त्यसो बताउँदा पनि उसले प्रेम गर्छ भन्ने लागिरह्यो। एउटै कक्षामा पढ्ने हामी साथीहरूकै बीचमा पनि ऊ साथी मात्र कहिल्यै लागेन।

खासमा ऊ मसँग साथीसँग जसरी कहिलेकाहीँ मात्र बोल्दैनथ्यो। उसको मेसेज र फोन दिनदिनै आउँथ्यो।

किन राति १२ बजे उसको मेसेजले मलाई बिउँझाउँथ्यो? किन म उसको फोनको पर्खाइमा बस्थेँ? किन ऊ प्रेमीझैँ रिसाएर आफ्नो हक खोज्थ्यो? साँझको कक्षा सकिएपछि किन ऊ सधैँ मलाई पुर्‍याउन आउँथ्यो? सबैभन्दा पहिले किन उसको टर्म पेपर मेरो इनबक्समा आइपुग्थ्यो? किन ऊ अरूका अगाडि मसँग कम र अरू नभएको बेला ज्यादा बोल्थ्यो?

यसरी ६ वर्ष बिते। हामीले एकसाथ मास्टर्स सक्यौँ। ऊ जागिरे भयो। म पनि कलेजमा पढाउन थालेँ।

हाम्रो सम्बन्ध साथीको जस्तो मात्र कहिल्यै थिएन। मेरो मनले सधैँ उसलाई साथीभन्दा बढी सोच्यो। कहिलेकाहीँ उसले ‘केही कुरा भन्छु, नरिसाऊ है’ भन्थ्यो, मुटुको ढुकढुकी बढ्थ्यो।

उसले साथी मात्र हौँ भन्यो, तर किन किन साथी मात्र जस्तो गरेन। पाँच वर्षपछि मैले फेरि हाम्रो सम्बन्धबारे सोधेँ, उही काँपकै स्वरमा। उसले फेरि पनि ‘हामी साथी मात्र हौँ’ भन्यो।

केही महिनाअघि एक बिहान हामी कलेजका साथीहरूको ह्वाट्सएप ग्रुपमा मेसेज आयो। फोटोसहितको मेसेज। फोटो उसको इन्गेजमेन्टको थियो।

त्यो दिन र रात दु:खद थियो। त्यो दिन र रातभर झरी पर्‍यो। मैले आफ्नो आँसु झरीसँगै सजिलै लुकाइदिएँ।

उसलाई धन्यवाद भनेँ। अबदेखि अरू साथीहरूसँग हुनेजस्तै संवादमा ऊसँग रहने वाचा आफैँसँग गरेँ। त्यो दिन सम्झँदा आज पनि आँखा भिज्छन्।

त्यसपछि म साथीझैँ मात्र भइदिएँ। पहिलेझैँ बोल्न चाहेर पनि बोलिनँ। म उसले चाहेजस्तो मानिस होइन भनेपछि पनि उसलाई सधैँ आफ्नोझैँ ठानिराखेँ भने आफैँ बिथोलिनुको विकल्प थिएन। उसको बाटो उसको थियो। मेरो बाटो मेरो थियो।

उसले त्यो भनेको रातभर हान काङको द भेजिटेरियन उपन्यास पढेँ। किताबकी मूल पात्रसँगै रोएँ। सायद ऊजस्तै मसँग अस्वीकृति र अप्रेमको अर्को कथा थियो। असारको महिना थियो, रातभर झरी रोकिएन। नरोकिएको झरीले रुने स्वतन्त्रता दियो।

वर्षौंसम्म साथी मात्र भनेर पनि साथी मात्र नरहेका हामी अन्तत: कहीँकतै भेट्दा हाई-हेलो भन्ने साथी मात्र बन्यौँ। कोही अन्जान व्यक्तिलाई बाटोमा भेट्दा शिष्टाचारवश जसरी मुस्कुराउँछौँ, त्यसरी मुस्कुरायौँ।

केही महिनाअघि एक बिहान हामी कलेजका साथीहरूको ह्वाट्सएप ग्रुपमा मेसेज आयो। फोटोसहितको मेसेज। फोटो उसको इन्गेजमेन्टको थियो। उसलाई सबैले बधाई दिए। मैले पनि दिएँ। आशा थियो, ६ वर्षको संगतको नाताले पनि उसको निम्तो आउला, तर आएन।

वर्षौंपछि बल्ल आज उसको फोन आयो, एकाबिहानै। एक मनले भन्यो– नउठाऊँ। अर्को मनले भन्यो– उठाऊँ।

अन्तत: उठाएँ। काँपेको आवाजमा भनेँ– ‘हेलो!’

‘के छ?’ उसले भन्यो।

‘ठीकै छ’ भनेँ। किन बिहेमा बोलाएनौ भन्न मन लागेन। भनिनँ।

उसले भन्यो, ‘तिम्रो चिना पठाऊ।’

सोधेँ, ‘किन?’

‘तिम्रो लागि एउटा केटा ठीक हुन्छ कि भनेर।’

म थप बोल्न सकिनँ। काँपेको आवाजमा भनेँ, ‘म बिहे गर्ने मुडमा छैन।’

उसले ‘गर्नुपर्छ’ भन्यो। मैले थप केही नभनी फोन काटिदिएँ। फोनमै तप्प आँसु झर्‍यो।

उसले फोन गर्नुको कारण बुझ्नसक्ने मुडमा म छैन। यत्ति थाहा छ, यो झरीसँगै मेरा आँसु बगिरहेछन्।

कथा यही हो। झरी पनि यही हो। झरीसँगै बगेको आँसु पनि यही हो। यो कथा कसरी टुंगिनेछ, थाहा छैन।

कुनै दिन लागेको थियो, हामी सधैँका लागि एक होऔँ। कुनै अर्को दिन लागेको थियो, मैले उसलाई गरेझैँ प्रेम उसले मलाई गर्छ। तर, ठीक उल्टो भयो। उसले त ऊ मेरो रोजाइको र रोजाइ बन्न लायक नभएको बताइदियो। आँसु त त्यो दिन पनि झरेको थियो। आँसु त आज पनि झरेको छ।

मलाई कोही मान्छे चाहिन्छ भनेर यतिका वर्षपछि उसलाई किन लाग्यो? म समयको यो अनौठो बहावसँगै लहरिएकी छु। उसको फोन कलले मेरो बिहानीलाई फेरि झरीमय बनाएको छ।

पतझडका पाना पल्टाउँछु, पात्र मेरै जस्तो हालतमा छ। ऊ बेखबर छ, श्रीमतीले एकाएक किन छाडी भनेर। तर, आफूलाई माथि राख्न ऊ यसमा आफ्नो गल्ती छैन भन्ने सोच्छ। ऊ सोच्छ– उसकी श्रीमती अरू कसैको प्रेममा थिई, त्यसैले यस्तो भयो। ऊ आफ्नो चित्त बुझाउन भन्छ, वा भनौँ यथार्थ उसले सोचेजस्तो नहुन पनि सक्छ। बस, उसलाई आफ्नो कारणले श्रीमतीले छोडेकी होइन भनेर प्रमाणित गर्नु छ। आफ्नो नजरमा आफूलाई सही साबित गर्नु छ। ऊ आफ्नो गल्ती केलाउन तयार छैन। त्यसैले कुनै अन्जान सहरमा भड्किएर हिँडेको छ।

किन किन म आफैँलाई त्यो पात्रजस्तै देख्छु। मलाई पनि लाग्छ– म सही थिएँ, ऊ गलत थियो। म जस्तो देखिन्छु, त्यसको कारण मलाई स्विकारेन। म पनि आफैँलाई सही प्रमाणित गर्न आफ्नो अन्धोपनको, एकोहोरो प्रेमको सहारा लिँदै छु। म आफैँलाई भन्न सक्दिनँ, सबै साथीत्व प्रेममा पुग्दैनन्। म पनि आफूलाई केलाउन तयार छैन। बस, मलाई आज पनि मैले प्रेमको बदला प्रेम पाउन सकिनँ भन्ने लाग्छ। त्यो प्रेम थियो वा थिएन मलाई थाहा छैन।

कथा यही हो। झरी पनि यही हो। झरीसँगै बगेको आँसु पनि यही हो। यो कथा कसरी टुंगिनेछ, थाहा छैन।

बस, कामना छ– दिनभर पानी परोस्!