२९ कार्तिक २०८२
अ+
अ-

सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जीहरु आफूले सत्ता पल्टायौं भन्ने भ्रममा रहेको बताएका छन्।

सुर्खेतमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै २३ र २४ भदौको सूचनाप्रविधिको गलत प्रयोग गरी लोकतन्त्रका आधार भत्काउने सुनियोजित षड्यन्त्र भएको पोखरेलको आरोप छ।

“हामीले नै सत्ता पल्टायौँ भन्ने जेन-जीलाई लागेको छ, तर लोकतन्त्रका आधार भत्काउने योजनासहित नियोजित घटना थियो,” उनले भने, “जेनजी भन्ने नेपाली संस्कृति होइन, यसमा षड्यन्त्रपूर्वक सूचना प्रविधिको दुरुपयोग गरेर उक्साइएको थियो भन्ने नवयुवाहरुले बुझेनन्।”

पोखरेलले आक्रोशित युवाहरुसँग भन्दा पनि आन्दोलनको बहानामा क्षति पुर्याउन उक्साउने पक्षसँग एमालेको असहमति रहेको बताए।

उनले अहिलेको सरकारलाई संविधानले नचिन्ने पनि बताए। संविधानले नचिन्ने सरकारले प्रतिनिधिसभा विघटन गरेकाले एमाले पुन:स्थापनाको पक्षमा रहेको उनले बताए। प्रतिनिधिसभा पुन:स्थापना गरेर त्यसबाट बन्ने अन्तरिम सरकारले चुनाव गराउनुपर्ने महासचिव पोखरेलको भनाइ छ।