कप ३०
बेलेम। ब्राजिलको बेलेम सहरमा जारी दुई साता लामो जलवायु सम्मेलन कप ३० मध्यतिर पुगेको छ। सम्मेलनको पहिलो हप्ता सकिँदै गर्दा शनिबार कपमा सहभागी राष्ट्रहरूलाई दबाब दिन हजारौँ प्रदर्शनकारी बेलेमको सडकमा ओर्लिएका थिए।
प्रदर्शनकारीको संयुक्त आवाज थियो- ‘जीवाश्म इन्धनको अन्त्य’ र ‘जलवायु न्यायको माग’। कपमा प्रत्येक वर्षजसो हुने प्रदर्शनमा सहभागीहरूले जीवाश्म इन्धन अन्त्यको माग गर्दै आदिवासी समुदायको अधिकार, जलवायु न्यायलगायत मुद्दा उठाउँछन्। यसलाई ‘नागरिकको विशाल प्रदर्शन’ भन्ने गरिन्छ। तर, सन् २०२१ मा स्कटल्यान्डमा भएको कप २६ पछि भने यस्तो प्रदर्शन हुन पाएको थिएन। आयोजक राष्ट्रहरू यूएई, अजरबैजान, इजिप्टमा प्रदर्शन गर्न निषेधजस्तै भएकाले त्यहाँ नागरिकको विशाल प्रदर्शन भएको थिएन।

केही वर्षको अन्तरालमा प्रदर्शनको आयोजना भएकाले विभिन्न देश तथा समुदायका नागरिक र कलाकारहरूले बेलेमको चर्को घाममा उत्सवजस्तै गरी ठूलो आवाजमा गीतसंगीत, वेशभूषा र आफ्ना मुद्दाहरूको नारा लगाए। बेलेम सहरको झन्डै पाँच किलोमिटर सडक वरपर ग्यास, पेट्रोलजस्ता जीवाश्म इन्धन अन्त्यको माग राखे।

ब्राजिल र अमेजन वनजंगलका आदिवासीहरू सहभागी भएको प्रदर्शनमा उनीहरूले आफ्नो भूमिमाथिको अधिकारको पनि माग गरे। ब्राजिलको दक्षिणी भागको आदिवासी हुनी क्यून समुदायकी फाया हुनीले आफ्नो समुदायको अधिकारका लागि प्रदर्शनमा आएको बताइन्।

यस्तै पारा विश्वविद्यालयका विद्यार्थीहरूले जीवाश्म इन्धनको अन्त्येष्टि हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। उनीहरूले अन्त्येष्टिमा जाँदा लगाइने कालो पोसाक लगाएर दबाब दिएका थिए। उनीहरूले कप ३० को अध्यक्षता गरिरहेका आन्द्रे कोरिआ दो लागो र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पुत्लासमेत बनाएका थिए।
प्रदर्शनमा बोल्दै आयोजकमध्येका एक अलियान्जा पोटेन्स्यिाका जाओ तालोच्चिले दक्षिणी विश्वबाट उत्तरी विश्वलाई न्यायपूर्ण र साहससहितको ऊर्जा रूपान्तरणलाई देखाउने प्रयास भएको बताए। प्रदर्शनमा सहभागीहरूले जीवाश्म इन्धनले निम्त्याइरहेको संकटबाट निस्कन यसको अन्त्य, जलवायु न्याय, न्याय, आदिवासीप्रतिको सम्मानबारे एउटै आवाज राखेका थिए।

बेलेममा कप ३० आयोजना गरिनुको मुख्य ध्येय आदिवासीको मुद्दा र अमेजन वनमा विश्वको ध्यान खिच्नु थियो। आफ्नो भूमिमाथिको अधिकारको माग गर्दै आदिवासी समुदायहरू कप सुरु भएको दोस्रो दिन मूल गेटबाट भित्र पस्ने प्रयाससमेत गरेका थिए। त्यसपछि शुक्रबार कपको मूल गेटअघि प्रदर्शन गर्दा दुई घण्टासम्म सहभागीहरू भित्र जान सकेका थिएनन्।

कपमा नेपालबाट सहभागी दिगो विकास इन्स्टिच्युटका प्रयास अधिकारी प्रणाली परिवर्तन, जलवायु न्याय, आदिवासी समुदायका आवाज बुलन्द बनाउन प्रदर्शन केन्द्रित रहेको बताउँछन्। जलवायु परिवर्तनमा काम गरिरहेको युवा समूहकी थाइसा सिल्भाले ठूला देश र कम्पनीले गर्दा आदिवासी, सीमान्तीकृत समुदायमा पुगेको नोक्सानीको क्षतिपूर्तिको मुद्दाको समर्थनमा आफू उपस्थित भएको बताइन्।

कपमा भने पहिलो सातासम्म राष्ट्रिय निर्धारित योगदानमा रहेको अन्तर, आर्थिक नीति, जलवायु अनुकूलनलगायत मुद्दामा छलफल भइरहेको छ। यस्तै, विश्व अनुकूलन लक्ष्यका सूचकहरूमा अझै बहस भइरहेको छ। जसमा नेपालसहितका कम विकसित राष्ट्रहरू तथा विकासोन्मुख देशहरूले अनुकूलनका लागि रकम तीन गुणा बढाउनुपर्ने माग गरिरहेका छन्।






– क्लाइमेट चेन्ज मिडिया पार्टनरसिपअन्तर्गत इन्टरन्युजको अर्थ जर्नालिज्म नेटवर्क र स्टान्ली सेन्टर फर पिस एन्ड सेक्युरिटीद्वारा आयोजित पत्रकारिता फेलोसिप कार्यक्रमको सहयोगमा तयार पारिएको रिपोर्ट।